काठमाण्डौ । अमेरिकी सरकार र टिकटकबीच सम्झौता भएको छ । मंगलबार म्याड्रिटमा भएको दुईपक्षिय व्यापारिक वार्ताको क्रममा सम्झौता भएको अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बसेन्टले पुष्टि गरेका छन् ।
यो सम्झौताका अनुसार टिकटकको नियन्त्रण अमेरिकी कम्पनीको हातमा जानेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई खरिद गर्नका लागि अमेरिकी कम्पनी अघि सरेको बताएका छन् । यस विषयमा सम्झौता भईसकेको र यस विषयमा शुक्रबार चिनियाँ राष्ट्रपतिसँग थप चर्चा हुने जनाइएको छ ।
रोयटर्सको रिपोर्टका अनुसार ओरेकल कम्पनीले यो सम्झौतामा अग्रणी भूमिका निभाउनेछ र थुप्रै कम्पनीको समूह बनाइनेछ ।
अमेरिकी अधिकारीहरुले अमेरिकाको सुरक्षाको सबै विषयलाई ध्यानमा राख्दै सम्झौता गरिएको छ ।
अमेरिकाले टिकटकलाई गत जनवरीमा कानूनी प्रतिबन्ध लगाएको थियो । तर यसको सञ्चालन भने अहिलेसम्मजारी छ । चीनलाई १७ सेप्टेम्बरसम्मको सीमा दिइएको थियो ।
सन् २०२४ मा अमेरिकामा एउटा कानून पास भएको थियो । जसमा चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक अमेरिकी सञ्चालकलाई बिक्री गर्न भनिएको थियो । यस्तो नगरे टिकटकमाथि प्रतिबन्ध लागू हुने जनाइएको थियो ।