• बुधबार, आश्विन १,२०८२ 05:49:09
Global IME Bank Limited

नेपाली सेयर बजारः विगत, वर्तमान र भविष्यका चुनौती

Hyundai Nepal
नेपाली सेयर बजारः विगत, वर्तमान र भविष्यका चुनौती
Shivam Cement

डि आर शाक्य

 

नेपाली सेयर बजार यसअघि पनि धेरैपटक अन्यौल र पीडादायी अवस्थाहरुबाट गुज्रेर आजको दिनसम्म आइपुगेको छ । विसं २०५८ साल जेठ १९ गते जब राजपरिवारको विवत्सा हत्या भयो त्यस समयमा पनि देशको भविष्य के होला कता जाने हो भन्ने ? अन्यौलता व्याप्त हुँदा सुरुमा सेयर बजार पीडादायी तरिकाले तल झरेको थियो तर लगानीको क्षेत्र नहुँदा त्यसको केही समयपछि फेरि बजारमा बढोत्तरी देखापयो ।

त्यसैगरी विसं २०६४ मा संविधान सभाको चुनाव हुने वा नहुने भन्ने अन्यौलताबीच करिब ७ दिनको बिदा दिएर चैत महिनाको अन्त्यतिर संविधान सभाको चुनाव सम्पन्न भयो । चुनावअघि बजार बढेर बन्द भएको थियो । तर जब चुनावको परिणाम आएसँगै बजारको परिदृश्य बदलियो । नेकपा माओवादी पार्टीको बहुमत आएको कारण चुनावको लगतै करिब दुई–तीन दिनसम्म नेगेटिभ सर्किटमा नेप्से पीडादायी तरिकाले तल झर्यो।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसपछि जब डा. बाबुराम भट्टराईले हामी आए भने अर्थतन्त्रमा पूँजीवादलाई बढवा दिन्छौ भन्ने जस्ता अभिव्यक्ति दिएसँगै बजार पुनः दुई–तीन दिन सकारात्मक सर्किट लागेर माथि लाग्यो र नेप्से त्यस समयको अल टाइम हाई ११७६ सम्म पुगेको थियो।

त्यसपछि डाक्टर बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा क्यापिटल गेन ट्याक्स १५ प्रतिशतसम्म बढाएपछि र सेयर बजारलाई जुवा घरको संज्ञा दिएपछि सेयर बजारमा आएको गिरावट २९२ दिनसम्म जारी रहेको थियो । सो समयमा सेयर लगानीकर्ताहरूले १४–१५ दिनसम्म नेप्सेमा आन्दोलन गरेर कारोबारलाई रोकेका थिए ।  

त्यस्तै नाकाबन्दीको कारण सुरुमा बजारमा गिरावट देखिए पनि पछि बढेको नै पाइन्छ । विसं २०७२ सालको भूकम्पपश्चात करिब ३ हप्ता जति बजार बन्द भयो । सो समयमा पनि बीमा समूहमा ठूलो दाबी आउने र बीमा समूहमा दबाब आउने आँकलन गरिएको थियो । जसका कारण बजार खुलेको एक हप्तासम्म बजार तल गएकोमा त्यसपछि बिस्तारै सम्हालिँदै एक वर्षपछि नै नेप्से इन्डेक्स ८८ प्रतिशतले बढेर त्यतिबेलाको अल टाइम हाई १८८१ सम्म पुगेको थियो । सोही समयमा बीमा दाबी भुक्तानी क्षमता बढाउन बीमा कम्पनीहरूको चुक्तापूँजी बढाइएको थियो । कम्पनीहरुले बोनस र हकप्रदमार्फत चुक्तापूँजी बढाउन थालेसँगै इन्स्योरेन्स इन्डेक्स ह्वात्तै बढ्यो।

त्यसपछि कोरोनाको कारण २०७६ मा चैत्र महिनाको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म बजार बन्द रहेको थियो। यसबीचमा दुई दिन मार्केट प्लस माइनस दुई पर्सेन्टमा एक दुई घण्टाको लागि खोले पनि पुरै मार्केट तल गएकोले पछि त्यो बन्द भएको थियो । जब असारको तेस्रो हप्ता बजार खुल्यो सुरुको एक दिन मार्केट अलिकति तल गए पनि भोलिपल्टबाट दुई दिन सकारात्मक सर्किट लागेर बजार माथि चढेको थियो र त्यसको एक वर्षपछि नै नेप्से इन्डेक्स ११०० बाट हालसम्मकै अल टाइम हाई ३२०० सम्म पुगेको थियो ।

यसबाट के थाहा पाउन सकिन्छ भने जब–जब बजारमा अन्यौलता र पीडादायी अवस्थाहरु सिर्जना हुन्छन् त्यसको केही समयपछि नै बजार सम्हालिएर फेरि माथि लाग्न थाल्छ । त्यसबेला नियमक निकायहरूबाट पनि सकारात्मक माहोल सृजना गर्न योगदान गरेको प्रष्ट देखिन्छ।

हाम्रो नेपाली समाजमा नेपालको धितोपत्र बजार विदेशको तुलनामा पछाडि परेको र विदेशका नीति नियमहरू राम्रा छन् भने अवधारणा बनाएको पाइन्छ, जब कि प्रत्येक देशले आफ्नो देशको परिस्थिति आफ्ना लगानीकर्ताहरूको ज्ञान र सुझबुझको क्षमता अनुसार नीति नियमहरू समयानुकूल परिवर्तन गर्दै अगाडि बढेको पाइन्छ। सोही अनुरूप धितोपत्र बजारमा पनि लगानीकर्ताहरूको सुरक्षाको खातिर धितोपत्रको कारोबारमा मूल्य सीमा प्लस माइनस दुई प्रतिशत र दिनभरिको मूल्य उतारचढाव प्लस माइनस १० प्रतिशत मात्र दिइएको छ । नेप्सेको अन्तिम कारोबार मूल्य डाइनामिक छ ।

नेपालमा जनसङ्ख्याको झन्डै २० प्रतिशत मानिसहरू धितोपत्र कारोबारमा संलग्न छन्। त्यो भनेको आर्थिक रुपले सक्रिय क्रियाशील जनसङ्ख्याको करिब ५० प्रतिशत भन्दा बढी मानिसहरुले सेयर बजारलाई आफ्नो प्राथमिक वा दोस्रो लगानी गरी आम्दानीको स्रोत बनाएको देखिन्छ । यति धेरै संख्यामा धितोपत्र लगानीकर्ता भएको देशहरु हामीले खोज्यौ भने विश्वका केही विकसित देशहरु मात्रै आउँछन् होला । हाम्रै छिमेकी देश भारतमा हेर्ने हो भने यो सङ्ख्या हाम्रोभन्दा निकै कम छ। त्यसमा पनि त्यहाँ ट्रेडर्सहरूको सफलता दर हेर्ने हो भने करिब ९१ प्रतिशत ट्रेडर्सहरु घाटामा छन् जबकि हामी कहाँ त्यो भन्दा राम्रो अवस्था छ ।  

वैदेशिक रोजगारी र आईपीओमा १० कित्ताका कारण तथा स्थानीयहरुलाई सहुलियतमा जलविद्युत तथा अरु कम्पनीको सेयरहरूमा अधिकार दिइएका कारण धितोपत्र बजार शहरको पैसा गाउँमा पठाउने सशक्त माध्यम बनेको छ । त्यस्तै दोस्रो बजारमा ट्रेडर्सहरूको सफलता दर हेर्ने हो भने पनि छिमेकी देशभन्दा हाम्रो सफलता दर माथि छ । त्यसैले नीति नियमहरु आफ्नो परिस्थिति अनुसार उपयुक्त हुनेगरी परिमार्जित गरी लागू गर्दा हितकर हुन्छ ।  

कोरोनाको समयमा प्रायः सबै देशहरुले सेयर बजारलाई प्राथमिकतामा राखी सहुलियतहरू दिएको कारण आ–आफ्नो आर्थिक अवस्था खस्किन नदिई टेवा दिएको पाइन्छ । त्यस समयमा नेपालमा पनि कोरोनाको कारण धितोपत्र बजार २५–३० प्रतिशत नै तल जान्छ भन्ने पूर्वानुमान गरिएकोमा धितोपत्र बोर्डका अध्यक्ष भीष्म डुङ्गाना ज्यूले खेलेको सक्रिय र सकारात्मक भूमिका बिर्सन सकिदैन । उहाँले धितोपत्रको आपूर्तिमा नियन्त्रण गरी नगद प्रवाहमा लगानीकर्ताहरूलाई सहुलियतपूर्ण र सहज पहुँच उपलब्ध गराएको कारण धितोपत्र बजारका लगानीकर्ताहरूले मात्रै नभई नेपाल सरकारले समेत राजस्व प्राप्त गर्यो । जसका कारण हवाई क्षेत्र, पर्यटन क्षेत्र, होटेल व्यवसायी, यातायात व्यवसायी आदि जसले आफ्नो व्यावसायिक कारोबार केही पनि गर्न पाएका थिएनन् र आम्दानी सुन्य प्राय भएकाहरु पनि बैंक ऋणको ब्याज तिर्न सक्षम भएका थिए र बैंकको खराब कर्जा त्यति बढेन ।  

यदि आजको दिनमा हामीले विश्वका अरु देशको इन्डेक्स हेर्यौ भने कोरोनाकालको पिकबाट करिब दुई वर्षसम्म बजार तल आई फेरि माथि गएको पाइन्छ तर नेपालमा नेपाल राष्ट्र बैंक तुरुन्तै सकारात्मक हुन नसकेका कारण करिब चार वर्षसम्म पनि धितोपत्र बजारमा सकारात्मक माहोल बन्न सकेन । हाल सबै आर्थिक सूचकांकहरु सकारात्मक भएको कारण विगत केही महिनादेखि धितोपत्र बजार सकारात्मक लयमा उकालो लागिराखेको अवस्थामा देशमा देखिएको परिवर्तन र विध्वंसात्मक गतिविधिको कारण भएको धनजनको क्षतिले बीमा क्षेत्रको दाबी भुक्तानी सम्बन्धमा विगतमा जस्तै अन्यौलता सिर्जना भएको र निकट भविष्यमा धितोपत्र बजारमा गिरावट आउँछ कि भन्ने आशंका रहेको पाइन्छ।

सुधारको सम्भावना

तर यो अन्योलतालाई हामीले सजिलै चिर्न सक्ने पनि देखिन्छन्।  

(क) मुख्य कुरा तरलताः बैंकमा तरलता फालाफाल भएपनि सो तरलता लगानीकर्ताहरूको हातमा हालको बजारलाई पुग्ने गरेर आइपुग्न सकेको छैन । त्यसका कारणहरू छन्

१. बैंकको कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्र सेयरमा लगानी गर्न पाउने भएकोले थुप्रै बैंकहरु जसले सेयरमा सक्रिय भई लगानी गरेका छन् उनीहरु स्याचुरेसन लिमिटमा पुगेका छन् । बैंकमा थुप्रिएको खराब कर्जाको कारण बैंकले बोनस सेयर र राइट सेयर पनि वितरण गर्न नपाएको कारण बैंकको चुक्तापूँजी विगत तीन चार वर्षदेखि बढेको छैन । जसका कारण बैंकले सेयरमा लगानी गर्न सक्ने क्षमता विगत तीन चार वर्षदेखि स्थिर छ ।

२. अहिले नेपालको धितोपत्र बजारमा नव युवाहरूको पनि त्यतिकै सक्रिय सहभागिता छ । तर हालको सेयर धितो कर्जाबाट कर्जा लिन नेपाल राष्ट्र बैंकको व्यवस्था बमोजिम युवाहरुलाई कठिन हुने हुँदा उहाँहरु ब्रोकरले दिने लिमिटमा नै क्रियाशील हुँदै आएकोमा हालको असहज परिस्थिति को कारण ब्रोकरबाट पनि लिमिट नपाएको वा पाउन कठिन भएको र थुप्रै लगानीकर्ताहरूको पैसा हकप्रद सेयरमा लगानी भई सो हकप्रद सेयर सूचीकरण पनि भइनसकेको कारण लगानीकर्ताहरूसँग नगद प्रवाह कमजोर अवस्थामा रहेको छ ।

३. धितोपत्र दलालबाट मार्जिन लेन्डिङको कारोबार सुरु गर्ने भनिएको धेरै वर्ष भएपनि हालसम्म पनि यो बजारमा उपलब्ध हुन सकेको छैन । अहिलेको परिपेक्षमा नयाँ नीति नियम मागिराख्नु भन्दा विगतमा नै हामीहरुले व्यवहारमा ल्याइसकेको औजारहरुमा समय सापेक्ष परिवर्तन गरी प्रयोग गर्नु छिटो हुन्छ । विगतमा पनि जब मार्केट २९२ सम्म झरेर निकै समयसम्म पनि माथि उठ्न नसक्दा मौद्रिक नीतिमा विटिलोन को अवधारणा ल्याएको थियो ।  

त्यो भनेको एक किसिमको सेयर खरिद कर्जा थियो । त्योभन्दा धेरै अगाडि आइपीओ भर्न पनि सेयर खरिद कर्जा उपलब्ध थियो। कोरोना कालमा पनि केही बैंकहरुले सेयर खरिद कर्जा प्रवाह गरेका थिए । पछि नेपाल राष्ट्र बैंकले यसलाई रोकेको कारण बन्द भयो । हो यसैलाई नै अब थप परिमार्जन गरी बैंक, ब्रोकर र लगानीकर्ताको त्रिपक्षीय सम्झौता गरी खरिद गरिएको सेयर ब्रोकर पुल अकाउन्ट बाट कर्जा प्रवाह गर्ने बैंकको पुल अकाउन्टमा रहनेगरी कुनै सीमा रकमसम्म सेयर खरिद कर्जा उपलब्ध गराउनु छिटो भरपर्दो र व्यावहारिक हुन सक्छ ।

४. केही हप्तामा नै दशैं सुरु हुने र त्यसपछि लगत्तै त्रैमासिक मसान्त पनि भएकोले यो पटक सेयर धितो कर्जाको ब्याज भुक्तानी गर्ने समयावधि बढाइदिनु आवश्यक छ । ताकि बजारमा सेयरको बिक्री चाप केही मत्थर होस् ।

ख. लगानीकर्ताको मनोबल उकास्ने काम गर्नुपर्ने

१. नागरिक लगानी कोष मार्केट मेकरलाई थप कोष उपलब्ध गराई अन्तिम खरिदकर्ताको भूमिका समेत निर्वाह गर्ने गरी लगानीकर्ताहरूबाट विगत लामो अवधिदेखि बुझी नलिएको लाभांश रकमबाट सहुलियत ब्याजमा रकम कोष उपलब्ध गराई मार्केटमा खरिद चाप बढाइदिनु उपयुक्त हुन्छ। बंगलादेशमा पनि सन् २०१०÷११ ताका बजार अति दबाबमा रहँदा यस्तै कोषलाई उपयोग गरी बजारलाई लयमा ल्याउने सफल प्रयास भएको थियो। पछि पनि यसलाई बजार स्थिरीकरण कोषको रूपमा प्रयोग गर्न पनि सकिनेछ।

२. बजारमा हल्ला भएजस्तो बीमा कम्पनीहरूको बीमा दाबी भुक्तानी दिन कुनै पनि बीमा कम्पनीहरु असक्षम छैनन्। अरु विगतमा विनाशकारी भूकम्प पछिको समयमा नै उनीहरूको क्षमता विस्तार गरिएको र बीमा कम्पनीहरुले पनि आफ्नो पुनर्बीमा बाहिरको संस्थामा पनि गरिसकेको हुनाले आफ्नो बीमा दायित्व न्यून हुने र यो आर्थिक वर्षको दुई महिना मात्रै बितेको र बाँकी १० महिना भित्र पुनर्बीमाबाट रकम प्राप्त गरेपछि यो आर्थिक वर्षको वासलातमा पनि खासै धेरै असर नपर्ने । यदि कुनै संस्थामा बढी असर पर्यो भने पनि पछि गएर विगतमा जस्तै पूँजी वृद्धि आदि उपायहरु अवलम्बन हुन सक्ने र मूल्य बढ्ने अनुमान सजिलै गर्न सकिन्छ ।

३. कम्पनीहरूले दिने लाभांश पनि गत आवको हाराहारीकै रहेकाले लगानीकर्ताहरुले यो वर्ष चौथो त्रैमासिकको विवरण अनुसारकै लाभांश पाउने अपेक्षा गर्न सकिन्छ। कोरोनाको समयमा जस्तै क्षति व्यहोरेका विभिन्न व्यवसायीहरूले सहुलियत पूर्ण ऋण र अन्य सहयोगहरू नियमक निकाय र सरकारबाट प्राप्त गर्ने भएकोले कोरोना कालमा जस्तै व्यवसायीहरु सफल पुनरुत्थान हुने कुरामा विश्वास गर्न सकिन्छ ।

४. हाल प्रयोगमा ल्याएको १५ मिनेटको औसत भारित मूल्य गणना विधिले प्राविधिक विश्लेषण उल्टोपाल्टो बनाइदिएको परिपेक्षमा यसले अन्तिममा बन्ने सुल्टो ह्याम्मर, स्पिनिङ आदि क्यान्डलहरूलाई उल्टो ह्याम्मर क्यान्डल बनाइ लगानीकर्ताहरूको मनोबल गिराउने काम मात्रै गरिराखेको छ ।  

त्यसैले यसलाई पूर्ण रुपमा हटाई लगानीकर्ताहरूले मार्केट अप्सनमा खरिद गर्ने औजारको दुरुपयोगलाई रोकथाम गर्न विगतमा गरेको माग बमोजिम उक्त औजारलाई निष्क्रिय बनाई बजारलाई प्राविधिक विश्लेषण युक्त बनाउनु आवश्यक छ । हालको अवस्थामा यसको प्रयोगले बजार बढ्दा ब्रेक लगाएको जस्तो अनि बजार घट्दा एक्सिलरेटर थिचेको जस्तो मात्र भएको छ। हामीहरूको जस्तो एकतर्फी र ठूलो धनराशीको मार्केट मेकर फन्ड नभएको देशमा यस्तो खालको औजारले दिने घटबढलाई साना लगानीकर्ताहरूको बाहुल्यता भएको बजारले थेग्न सक्दैन ।

ग. सम्भावित धितोपत्रको बिक्री दबाव कम गर्ने उपायहरू अवलम्बन गर्नुपर्ने

१. लगानीकर्ताहरूले नेपाली सेयर बजारमा भएका विगतका उतारचढावहरुबाट पनि पाठ सिक्नुपर्ने र कुनै पनि देशको सरकारले देशको अर्थतन्त्र सुधार्नको लागि आफूले सक्दो प्रयास जहिले पनि गरेकै हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। सुरुमा आउने सूचनाहरू प्रायजसो उचालिएर नै आउने हुँदा उक्त सूचनाहरूमा मात्रै भर परेर निर्णय लिदा पछि आफ्नो निर्णय गल्ती हुन जाने सक्ने भएकोले सचेत रहनुपर्ने हुन्छ।

२. प्राथमिकता प्राप्त जलविद्युत कम्पनीहरू को आइपीओ र उनीहरूको थप निर्माण गर्नको लागि चाहिने नगद प्रवाह र पूँजी सङ्कलनको लागि तथा नियमक निकाय रहेको संस्थाहरूको बाहेक अरु क्षेत्रको आइपीओहरू केही समयको लागि स्थगन गरेर बजारमा सेयर आपूर्ति कम गर्न सकिन्छ ।

अन्त्यमा सेयर बजार भनेको देश अप्ठ्यारो परिस्थितिमा हुँदा आर्थिक टेवा दिने क्षेत्र भएकोले यसमा समयानुकूल परिमार्जन र परिवर्तन गरी आर्थिक उपलब्धि हासिल गर्न विगतमा जस्तै हाम्रा नियमक निकायहरूबाट सकारात्मक सुधारहरु गर्न सक्षम हुने नै छ भन्ने विश्वास गर्न र नआत्तिएर कारोबार गर्नु आवश्यक छ । देशको आर्थिक सूचकाङ्कहरू तरलता, ब्याजदर शोधनान्तर स्थिति सबै सकारात्मक भएको हुँदा निकट भविष्यमा नेपाली सेयर बजारले नयाँ उचाइ छुन सक्ने सम्भावना प्रबल छ।

–डीआर शाक्य पूँजी बजारका सक्रिय लगानीकर्ता हुन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.