काठमाण्डौ । लगानीकर्ताहरुको एउटा समूहले आज कारोबार समय सकिएलगत्तैदेखि पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) कब्जामा लिएको छ ।
आज सेबोनको सञ्चालक समितिको बैठक डाकिएको थियो । त्यसअघि नै धितोपत्र बोर्ड पुगेका सेयर लगानीकर्ताहरुले आफ्ना विभिन्न ११ बुँदे माग राखेर आजै पूरा गर्नुपर्ने दवाब दिंदै बोर्ड कब्जा गरेका हुन् ।
यो समाचार तयार पार्दासम्म लगानीकर्ताहरु धितोपत्र बोर्डको चलिरहेको बैठकको निर्णयहरु कुरेर बसेका छन् । अवस्था तनावपूर्ण रहेको त्यहाँ उपस्थित लगानीकर्ताहरुले दाबी गरेका छन् ।
धितोपत्र बोर्ड घेराउ गर्न लगानीकर्ताहरुको नेतृत्व गरेर खुमलटार पुगेका लगानीकर्ता सुशील लुनियाले आफूहरुले कारोबार समय सकिएलगत्तै धितोपत्र बोर्ड पुगेर अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई उनको कार्यकक्षभन्दा बाहिर निस्किन नदिएको र आफ्ना मागहरु आजै पूरा नहुञ्जेल बोर्डका कुनै पनि सञ्चालकलाई बाहिर निस्किन नदिने अडानमा रहेको बताए ।
'हाम्रा माग आजै पूरा नहुने हो भने हामी धितोपत्र बोर्ड छाड्दैनौं ।' लुनियाले भने- 'अहिले बोर्ड बसिरहेको छ । हामी बाहिर छौं । हाम्रा माग सम्बोधन नभएसम्म हामी यहाँबाट हिँड्दैनौं ।'
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने हाल बोर्ड बैठक चलिरहेको मात्र प्रतिक्रिया दिए ।