काठमाण्डौ । अघिल्लो दिन भारी अंकले घटेको बजार सोमबार ४४ अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा तल लामो धागोसहितको ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार घटेको बजारमा ब्रेक लागेको मान्न सकिन्छ ।
आज इन्ट्रा डे कारोबारमा २५ सयबाट तल खसेको बजारमा अन्त्यमा सुधार आएको छ । अर्थात बजारले यसपटक पनि अघिल्लो पटकको सपोर्ट जोन २४८५ विन्दु आसपासमा नै सपोर्ट लिएको देखिन्छ । यी दुई बटमहरुलाई जोड्दा बजारले सपोर्ट जोनमा डबल बटम प्यार्टन बनाउँदै गरेको देखिन्छ ।
घट्दो बजारमा डबल बटम प्यार्टन भनेको बजारको युटर्नको संकेत मानिन्छ । तर यस बढ्दो बजारमा यस विपरित डबल टप बनेको खण्डमा बजारमा बुल र्याली कमजोर हुँदै गरेको बु्झिन्छ । यस अर्थ अहिलेको घट्दो बजारमा डबल बटम प्यार्टनले वियरिस यात्रा कमजोर बन्दै गरेको देखिन्छ ।
तर यस्तो प्याटर्न भ्यालिड नै हुन भने बजार नेक लाइन भन्दा माथि टिक्नु पर्ने हुन्छ । आज बजार बढ्दा अघिल्लो दिनको कारोबार भन्दा कम भएको देखिन्छ । यसकारण आगामी कारोबारमा यदि आजको भन्दा उच्च कारोबारका साथ बुलिस प्रकृतिको क्याण्डल बनेको खण्डमा बजारले थप उचाइ लिन पनि सक्छ ।
आज ४ घण्टाको कारोबारमा अन्तिम आवरमा भोल्यूम र कारोबार सहित बजारमा बढोत्तरी देखिन्छ । बोलिङ्गर ब्याण्ड र म्याक्डीमा बजार सामान्य अवस्थामा देखिन्छ । तर बजारलाई आरएसआईबाट नियाल्दा प्रष्ट रुपमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ ।
यसले सम्भावित रुपमा बजारले युटर्न लिनको लागि शक्ति सञ्चय गर्दै गरेको सम्भावना पनि त्यतिकै देखिन्छ । तर यसको लागि अझै एक दुई कारोबार पछि मात्रै बजारको अवस्था निश्चित हुनेछ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।