काठमाण्डौ। नेप्से कर्मचारीहरुले पाउने बोनसको विषय सर्वोच्च अदालतमा पुगेको छ । नेप्सेका कर्मचारीहरुले कुनै वर्ष १ प्रतिशत र कुनै वर्ष ५ प्रतिशतका दरले बोनस पाँउदै आएका थिए । तर यस वर्ष अर्थ मन्त्रालयले ५ प्रतिशत बोनस रोकिदिए पछि नेप्से भित्र भाँडभैलो मच्चिएको थियो ।
यसै विषयलाई लिएर नेप्सेका कर्मचारीहरुले नेप्सका सीईओ चूणामणी चापागाई तथा अध्यक्ष हेमन्त बस्याललाई दिनभर कार्यालयमा बन्धक बनाएका थिए । त्यसपछि, प्रहरी प्रशासन लगाएर बाहिर निस्केका सीईओ र अध्यक्ष हालसम्म पनि कार्यालयमा फर्कन सकेका छैनन् ।
तर यो बिषय मंगलबार सर्वोच्च अदालत पुगेको छ । मंगलबार चढेको पेसिमा श्रम अदालत भक्तपुरलाई विपक्षी बनाइएको छ । उक्त पेसि आज डा. मनोज कुमार शर्माको इजलास नम्बर २ मा परेको छ ।
यसअघि श्रम अदालत भक्तपुरले छिनोफानो गरेको विषय अर्थ मन्त्रालयले रोकेको थियो । त्यसपछि कर्मचारीहरु आन्दोलित भएका थिए । श्रम अदालत भक्तपुरकै निर्णयको आधारमा बोनस बाड्दा बोनस ऐनले आफूहरु अप्ठ्यारोमा परेको सञ्चालक समितिको जिकिर छ । तर यो विषय सर्वोच्चले टुङ्ग्याई दिएको खण्डमा यो विषयले किनारा पाउने सञ्चालकहरुको भनाई रहेको छ ।
नेप्सेका सीईओ र सञ्चालकहरुले ऐन दिएको सुविधा कर्मचारीहरुलाई दिन आफूहरुलाई कुनै समस्या नभएको बताउँदै आएका छन् । जेनजी आन्दोलनपछि कर्मचारी बलिया बन्दै गएका छन भने सञ्चालक समिति कमजोर हुँदै गएको छ ।
