बुधबार, श्रावण १३,२०८३ 02:52:14
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:52:14
Bizshala
Global IME Bank Limited

बालुवाटारमा उच्चस्तरीय छलफल: सुरक्षा र संवादमा जोड, हिंसा अस्वीकार्य

बालुवाटारमा उच्चस्तरीय छलफल: सुरक्षा र संवादमा जोड, हिंसा अस्वीकार्य
New Office

काठमाण्डौ । नेपालको राजनीतिक वातावरणमा नयाँ मोड आउने संकेत गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सडक प्रदर्शनको तयारीमा रहेका राजनीतिक दल तथा समूहहरूलाई संवादको बाटो रोज्न विशेष अपिल गरेका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बिहान बालुवाटारमा बोलाएको सुरक्षा निकायका प्रमुखहरूसँगको उच्चस्तरीय छलफलपछि गृहमन्त्रीले यो अपिल गरेका हुन् । 

छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले भने, "जसका पनि राजनीतिक मागहरू छन्, सरकारले संवादको माध्यमबाट ती कुरा सुन्नेछ । अब सबै संवादमा इन्गेज हुनुपर्छ, सडकमा जाने जरुरी छैन ।" उनले सडक प्रदर्शनले सुरक्षा जोखिम निम्त्याउने बताउँदै अहिंसात्मक र जिम्मेवार राजनीतिक संस्कार अपनाउन जोड दिए । "सडकमा जाने पनि अन्ततः संवादको अपिल नै हो, तर यदि संवादबाटै कुरा मिल्छ भने सडकमा नजाने होस्," उनले थपे  ।

यो छलफल झण्डै दुई घण्टा चलेको थियो, जसमा मुलुकको सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार, छलफल निर्वाचनको वातावरण निर्माण, सडक प्रदर्शनबाट उत्पन्न जोखिम र शान्ति सुरक्षा प्रत्याभूति दिने विषयमा केन्द्रित थियो । गृहमन्त्रीले भने, "खासगरी सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण हो अहिले । स्थिति सामान्यीकरण गर्ने र चुनावको वातावरण बनाउनका लागि चाहिने शान्ति सुरक्षाको प्रत्याभूति दिने कुरामा नै केन्द्रित छौं ।"

उनले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकारमा हनन नहोस् भन्ने आग्रह गरे । "सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुगोस् भन्ने सरकारको चाहना होइन । हिंसा कुनै हालतमा स्वीकार्य छैन । अहिंसात्मक तरिकाले गर्नुपर्दछ," गृहमन्त्रीले जोड  दिए । सरकार अभिभावकको भूमिकामा रहेर सबै राजनीतिक शक्तिलाई सहमति र संवादतर्फ लैजाने प्रयासमा रहेको उनको भनाइ छ । "राजनीतिक शक्ति भनेको भविष्यमा देश चलाउने जिम्मेवार शक्ति हो । त्यसैले राजनीतिक व्यवहार, संस्कार र जिम्मेवारी बोध सबैमा हुनुपर्छ," उनले थपे ।

यो अपिललाई राजनीतिक दलहरूले कसरी ग्रहण गर्छन् भन्ने कुराले आगामी दिनहरूको दिशा निर्धारण गर्न सक्छ । 

सरकारले तत्कालका लागि संवादकै नीति अनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको छ, जसले राजनीतिक स्थिरता र निर्वाचन प्रक्रियालाई मजबुत बनाउने विश्वास गरिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.