काठमाण्डौ । प्रत्येक साताको आइतबार पस्किदै आएको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ लाई सधैंझै हामीले आजपनि निरन्तरता दिएका छौं । ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने क्रममा आज हामीले नागपोखरी, न्युप्लाजा र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुग्यौं ।
बजार खुलेको केही समयमा नै नेप्से परिसूचक सामान्य अंकले बढेको थियो र सबैजसो ब्रोकरहाउसहरुमा लगानीकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो । प्राय सबै लगानीकर्ता सेयरबजार बढ्दा खुशी भावमा देखिन्थे ।
प्रज्ञान सेक्युरिटिजः आत्तिएर बेच्न नहुने सुझाव
सर्वप्रथम हामी प्रज्ञान सेक्युरिटिज (ब्रोकर नं.१०) पुग्यौं । नेप्से परिसूचक दोहोरो अंकले बढीसकेको थियो । सबैजना आजको बजार कतिसम्म पुग्ला भन्ने आँकलन गरिरहेका थिए ।
एकजना लगानीकर्ताले आजको बजार ४०÷५० अंकसम्म पुग्ने अड्कल लगाइरहेका थिए । अर्का लगानीकर्ताले भने सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज सर्किट हान्नुपर्ने तर्क राखे ।
‘आज सबै समूह बढेपनि हाइड्रोमा नै आँखा गइरहेको छ, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर सर्किट हान्नुपर्ने हो आज त’ उनले भने, ‘जे होस् अलि कति भएपनि बढेछ, तर म अब कसैलाई पनि सेयर किन्न सुझाव भने दिन्न फोकटमा घट्या बेला गाली मात्रै खाइन्छ ।’
त्यस्तै, अर्काे उनकै छेउमा बसेका लगानीकर्ताले पनि बुटवल पावर कम्पनीको सेयर बढ्नुपर्ने तर्क राख्दै थिए । उनले भने, ‘अलिकति बजार बढ्न थाल्यो भने मान्छेहरु आत्तिएर बेचिहाल्छन् अनि फेरी सेलिङ प्रेसरले बजारमा करेक्सन देखिन्छ’ उनले भने, ‘बजार विस्तारै बढ्छ नै सबै स्क्रिप्टको पालो आउँछ, आत्तिएर बेचिहाल्नु हुँदैन ।’
दिव्या सेक्युरिटिजः हाइड्रो समूहको चर्चा
दोस्रोमा हामी न्यूप्लाजास्थित दिव्या सेक्युरिटिज (ब्रोकर नं.५९) पुग्यौं । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति सामान्य नै थियो । तर सबैजना उत्साहित देखिन्थे । लगानीकर्ताहरु एकआपसमा मस्त गफिदै थिए । कसैले दोर्दी खोला जलविद्युत त कसैले राधी विद्युत कम्पनीको चर्चा गरिरहेका थिए ।
‘यो दोर्दीखोला जलविद्युत कम्पनीले आज सर्किट हान्छ जस्तो छ, निकै बढ्दै छ त’ एकजना लगानीकर्ताले भने, ‘अस्ति घटेको समयमा किन्नुपर्ने रैछ कस्तो पछुतो लाग्यो ।’
त्यस्तै, अर्का लगानीकर्ताले भने राधी विद्युत कम्पनी र बुटवल पावर कम्पनीको सेयर पनि बढ्न सक्ने अनुमान व्यक्त गर्दै थिए ।
भिजन सेक्युरिटिजः हाइड्रो र इन्स्योरेन्सको चर्चा
त्यसपछि हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) पुग्यौ । उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो । प्रायजसो लगानीकर्ताहरु हाइड्रो र इन्स्योरेन्स समूहको चर्चा गर्दै थिए ।
एकजना लगानीकर्ताले भने आज बजार ५० अंकले बढ्ने अनुमान लगाइरहेका थिए । त्यत्तिकैमा एकजनाले भने, ‘अब त बजार माथि जाने देखियो है, अब बजार घट्छ भनेर भ्रम फैलाउनेलाई त पिट्छन् । बजार यहि लयमा माथि जान थाल्ने हो भने अब राम्रा स्टकहरु उठाउन पाइँदैन ।’
अर्को लगानीकर्ताले भने अब लाइफ इन्स्योरेन्स सेक्टर पनि माथि उठ्ने बताउँदै थिए । उनले भने, ‘आज लाइफ इन्स्योरेन्स सेक्टर राम्रो बढेको छ, नेपाल लाइफजस्ता राम्रो कम्पनीहरु बढ्न थालेको छ’ उनले भने, ‘बैंकहरुलाई सेयर किन्न सहज वातावरण बनाइदिएपनि बैंकहरुले सेयर किन्ने भनेकै लाइफ इन्स्यारेन्सको हो ।’
इम्पेरियल सेक्युरिटिजः बजारभन्दा राजनीतिक विषयको चर्चा
अन्त्यमा हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज पुग्यौं । उक्त ब्रोकर हाउसमा पनि लगानीकर्ताको बाक्लै उपस्थिति थियो । कसैले हाइड्रो र फाइनान्स सेक्टरको चर्चा गरिरहेका थिए भने प्रायजसो सामूहिक रुपमा राजनीतिक विषयमा बहस गरिरहेका थिए ।
एकजना लगानीकर्ताले दुर्गा प्रसाई राम्रो प्रवृत्तिको नभएको कुरा गर्दै थिए । ती लगानीकर्ताको कुरालाई समर्थन गर्दै अर्को लगानीकर्ताले भने, ‘दुर्गा प्रसाई पनि अनेकन कुरा गर्छ, आन्दोलको कुरा उठाइरहेको छ केही गरी यसले जित्ने हो भने पक्कै स्वास्थ्य मन्त्रीको पद माग्छ होला ।’
अर्को साइडमा बसेका लगानीकर्ताहरुले पनि पछिल्लो समयको राजनीति विषयमा कुराकानी गर्दै थिए । केहीले कुलमान घिसिङ सबैको भगवान हो भन्दै मजाक उडाउँदै थिए । अर्को लगानीकर्ताले कुर्सीमा बस्नेजति सबै भगवान नै हुन् भनेर कुरा थपे ।
त्यस्तै, अर्को साइडमा बसेका लगानीकर्ताले भने हिजोमात्रै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहको स्टाटसको विषयमा कुरा गर्दै थिए ।

