काठमाण्डौ । विवादास्पद उद्योगी पवन गोल्यानको मुख्य लगानी रहेको सिटी होटल लिमीटेडले निश्कासन गरेको करिब १५ प्रतिशत हकप्रद सेयर आवेदन नपरेको देखिएको छ ।
यो होटलका हकप्रदमा केही प्रमोटरहरुले नै आवेदन नदिएका आँकडाले देखाएको छ । प्रमोटरले नै नपत्याएको कम्पनीको हकप्रदको पासोमा सर्वसाधारण सेयर लगानीकर्तालाई फसाइएकोसम्मको आरोपहरु सामाजिक सञ्जालहरुमा लाग्न थालेको देखिन्छ।
सिटी होटलले भदौ २३ देखि असोज २६ गतेसम्म चुक्तापूँजीको १ः०.८० को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । कुुल १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता हकप्रद निश्कासन गरिएकोमा संस्थापक, कर्मचारी र साधारणतर्फको समेत गरी कुल १९ लाख ५० हजार ४१८ कित्ता खरीदका लागि कुनै आवेदन नपरेको हो ।
आवेदन नै नपरेको हकप्रद सेयर कम्पनीले अब अक्सनमा ल्याएको छ । नबिकेका सेयर खरीदका लागि कात्तिक २३ गतेदेखि खुलाइएको अक्सन कात्तिक ३० गतेसम्म रहने बताइएको छ ।
रमाइलो कुरा त के भने यसरी नबिकेको हकप्रदमध्ये १९ लाख ८० हजार ९९९ कित्ता प्रमोटर समूहतर्फको छ । यसको अर्थ ठूला प्रमोटरले नै आफ्नो कम्पनीको हकप्रदमा लगानी नगरेका देखिन्छ ।
यस्तै, कर्मचारीलाई छुट्याइएको सेयरमध्येबाट नबिकेको हकप्रद ६ हजार कित्ता छ भने साधारण समूहतर्फ १ लाख ५४ हजार ४१९ कित्ता हकप्रद नबिकेको देखिएको छ ।
सबै व्यक्तिगत, संस्थागत लगानीकर्ता तथा कम्पनीहरु अक्सनमा बिड गर्न योग्य रहेका सूचनामा उल्लेख छ ।
प्रभू क्यापिटल लिमीटेडले हकप्रद सेयर अक्सनमा बिक्री प्रबन्धकको काम गरिरहेको छ । अक्सनमा सहभागी हुन चाहनेले न्यूनतम १०० कित्ता र मूल्य पनि न्यूनतम १०० रुपैयाँ उल्लेख गर्नुपर्नेछ ।

