काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै नाफा समेत वृद्धि भएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्म २२ करोड ७४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १३ करोड ७१ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
यो अवधिमा संस्थाले ६ करोड २१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५३.६१ प्रतिशत बढी हो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने २ करोड २२ लाखबाट घटेर १ करोड ५७ लाखमा सीमित बनेको छ ।
संस्थाको खुद सञ्चालन आम्दानी २० करोड २६ लाख र सञ्चालन मुनाफा ८ करोड ८९ लाख रहेको छ ।
यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ७१ करोड ३९ लाख रुपैयाँबाट बढेर ७४ करोड ३२ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ । निक्षेप संकलन ३ अर्ब ६१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाह पनि ९ अर्ब ८३ करोड रुपैयाँबाट बढेर १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ४.३५ प्रतिशतबाट घटेर ३.९१ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा २६.१६ रुपैयाँ रहेको ईपीएस ४०.१९ रुपैयाँ पुगेको छ । यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २२०.०९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७०५.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.४७ गुणा र तरलता अनुपात ३.७५ प्रतिशत कायम छ ।

