काठमाण्डौ । यो साता ५ कारोबार दिनमा नेप्से परिसूचक ३ दिन घट्यो भने २ दिन झिनो अंकले बढ्यो । यो साता नेप्से सूचक ५०.३९ अंक (१.९४ प्रतिशत)ले घटेर २५४५.७३ विन्दुमा कायम भएर बन्द भयो । नेप्से सूचक गत साता २५९६.१२ विन्दुमा बन्द भएको थियो । तीन कारोबार दिन नेप्से सूचक उच्च अंकले गिरावट आउँदा यो साताको समग्र सेयरबजार घट्न पुगेको छ ।
सबैभन्दा ठूलो इन्ट्राडे गिरावट आइतबार ३०.०३ अंकको रह्यो । जुनदिन कारोबार रकम भने ४.९० अर्बमाथि थियो । यो साताको कुल कारोबार रकम २०.३९ अर्ब रहेको छ । यो साता सर्वाधिक कमाउनेमा नयाँ सूचीकृत कम्पनीहरु रहेका छन् भने सर्वाधिक गुमाउनेमा वित्तीय संस्थाहरु धेरै रहेका छन् ।
सर्वाधिक कमाउनेमा सागर डिष्टिलरी, बुङ्गल हाइड्रो, माबिलुङ इनर्जी, बन्दीपुर केबलकार, भूगोल इनर्जी, दरमखोला हाइड्रो, १०% एनआइएमबी डिबेञ्चर, स्वेत गंगा हाइड्रोपावर, स्वस्तिक लघुवित्त र रु रु जलविद्युत परियोजना रहेका छन् । सर्वाधिक गुमाउनेमा उन्नती सहकार्य लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, उपकार लघुवित्त, नेपाल फाइनान्स, महिला लघुवित्त, बुटवल पावर कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, पिपुल्स हाइड्रोपावर, लक्ष्मी लघुवित्त र लुम्बिनी विकास बैंक रहेका छन् ।
सर्वाधिक कमाउनेमा सागर डिष्टिलरीको सेयरभाउ ६०.९७ प्रतिशतले बढेको छ भने सर्वाधिक गुमाउनेमा उन्नती सहकार्य लघुवित्तको सेयरभाउ यो साता २१.८५ प्रतिशतले घट्न पुगेको छ ।



