काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ३ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न साधारण सभा समेत आह्वान गरेको छ ।
कम्पनीले यही मंसिर २६ गते काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि २२ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा लाभांशको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा आव २०८१/८२ को सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणमाथि छलफल गरी पारित गर्ने , आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा सञ्चालक समितिमा भएको परिवर्तन तथा निजको नियुक्ती अनुमोदन गरिनुका साथै संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

