काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारणसमक्ष नबिल इन्भेष्टमेन्ट बैंकिङ (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत असोज २६ गतेदेखि २९ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको ३२ लाख ६२ हजार ५ सय कित्ता र संस्थापक सेयरधनीहरुमा वितरण गरिएको १ करोड ३० लाख ५० हजार कित्ता गरी जम्मा १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मंसिर ३ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘एसएआइएल’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.५९ रुपैयाँ र ३०१.७७ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ ।

