काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कफि र कोकोआ लगायतका ब्राजिलका कृषिजन्य वस्तुमाथिको ४० प्रतिशत ट्यारिफ हटाएसँगै विश्वबजारमा कफिको मूल्य घटेको छ ।
गत सेप्टेम्बर महिनामा अमेरिकी रिटल कफिको मूल्य ४० प्रतिशतसम्म बढेको थियो । विश्वको सबैभन्दा ठूलो कफि उत्पादक ब्राजिलले अमेरिकामा करिब एक तिहाई कफि आपूर्ति गर्ने गर्छ । अमेरिका विश्वकै सर्वाधिक कफि खपतकर्ता देश हो ।
अमेरिकाले ट्यारिफ हटाएसँगै आईसीई एक्सचेञ्जमा अरेबिया कफि फ्युचर्स ४.६ प्रतिशतले घट्दै प्रति पाउण्ड ३.५९२५ डलर कायम भएको छ । अरेबिया कफि फ्युचर्स विश्वभरको कफिको मूल्य निर्धारण हुने बेन्चमार्क हो । यसअघि यो बेन्चमार्क ६ प्रतिशतले घट्दै दुई महिनाकै न्यूनसम्म पुगेको थियो ।
रोस्ट र बिलेन्ड गर्नु नपर्ने रोबोस्टा कफिको मूल्य ५ प्रतिशतले घटेर प्रतिटन ४ हजार ४ सय डलरमा सीमित बनेको छ ।

