काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८१ प्रतिशत अर्थात ४७.२२ अंकले बढेर २ हजार ६४७.४४ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७४ प्रतिशतले बढेर ४५६.१३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड ४२ लाख ४ हजार ३६२ कित्ता सेयर ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन भने ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
बजार जानकार अजय सि थापा (जय शम्भु) भन्छन्, ‘आज बजार राम्रै अंकले बढेको छ । अहिलेको बजार करेक्टिभ र्यालीमा चलेको छ । यदि यो हप्ताभरी बजार करेक्टिभ र्यालीमा अर्थात् यो भन्दा माथि गयो भने २७८० वा २८०० को विन्दु आसपास जान्छ । फन्डामेन्टल्लि हेर्दा पनि बजारलाई प्रभाव पार्ने खालेको त्यस्तो केही अवस्था छैन । सम्भवतः केही हदसम्म बजार माथि जान सक्छ ।’
अर्का बजार जानकार नयन बास्तोला भन्छन्, ‘अहिले बजारमा लगानीकर्ताहरुको मनोबल बढ्न थालेको छ । सेक्टरवाइज सबै जसो समूह चल्न थालेका छन् । लामो समय साइडवेजमा चलेको बजारमा अब लगानीकर्ताहरुमा लगानी गर्ने एक खालको आँट आएको छ । बजार घटिहाल्नुपर्ने जस्ता त्यस्तो कारणहरु पनि छैन । अहिलेको मार्केट रेञ्ज एकदमै तल छ अब यो भन्दा तल जाँदैन । राजनीतिक माहोल राम्रो हुँदै छ, चुनाव हुने देखिएसँगै लगानीकर्तामा पनि मनोबल बढेको हो । बजारप्रति अहिले लगानीकर्ताहरु पूर्ण रुपमा सकारात्मक छन् ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज जीवन बीमा समूह सर्वाधिक अर्थात ४.९४ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.४० प्रतिशत, विकास बैंक १.२१, फाइनान्स १.४२, होटल २.२४, हाईड्रो ०.८०, लगानी १.८३, उत्पादन तथा प्रशोधन १.६४, लघुवित्त १.९३, म्युचुअल फण्ड ०.७९, निर्जीवन बीमा २.९९, अन्य १.६८ र व्यापार ०.७६ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ४३ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ७६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २० क रोड ३२ लाख र रिलायबल नेपाल लाइफको २० करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी, बन्दिपुर बेवलकार स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ८.२६ प्रतिशत, सूर्यज्योति लाइफको ८.०१ र जोशी हाईड्रोपावरको सेयरमूल्य ७.६३ प्रतिशतले बढ्यो ।
यो दिन माबिलुङ इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ४.४४ प्रतिशतले घट्यो ।
यस्तै बरुण हाईड्रोको सेयरमूल्य २.२७ प्रतिशत र राप्ती हाईड्रोको सेयरमूल्य २.०७ प्रतिशतले घट्यो ।

