काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरेको छ ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द भने छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गते हनेछ ।
कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू. १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये सर्वसाधारणलाई छुट्याइएको मध्ये वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको आधारमा सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रको लागि छुट्याइएको करोड कित्ता मध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ को स्थानीय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अति प्रभावित वडाहरु बाहेक अन्य वडाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता साधारण सेयर निष्काशन गरी र बाँकी १० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ रकमबराबरको रु.१०० अंकित दरको १ करोड कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।

