काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकालाई निमन्त्रणा नपठाउने बताएका छन्।
साथै, उनले यो वर्षको बैठकमा अमेरिकी प्रतिनिधिलाइै गरिएको व्यवहारका कारण दक्षिण अफ्रिकालाई दिइने सबै भुक्तानी र सहायता रोक्ने पनि बताए। हालै दक्षिण अफ्रिकामा भएको जी २० शिखर सम्मेलनमा ट्रम्पले अमेरिकी प्रतिनिधिमण्डल पठाएका थिएनन् ।
ट्रम्पले दक्षिण अफ्रिकामा गोरा नागरिकमाथि हिंसात्मक दमन भइरहेको आरोप लगाएका छन् । तर, दक्षिण अफ्रिकाले यो आरोपलाई ‘निराधार’ भनेको छ।
जी–२० को समापन समारोहमा सहभागी भएका अमेरिकी दूतावासका वरिष्ठ प्रतिनिधिलाई जी–२० को अध्यक्षता सुम्पिन इन्कार गरिएको समेत ट्रम्पले आरोप लगाएका छन् ।
के हो जी–२० ?
जी–२० भनेको २० देशहरुको समूह हो । सन् १९९९ मा एसियामा आर्थिक संकट परेको बेला सबै देशका अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका गभर्नरहरूले मिलेर विश्वव्यापी आर्थिक र वित्तीय मुद्दाहरू छलफल गर्न सक्ने फोरम बनाएका थिए ।
जी २० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, कोरिया गणतन्त्र, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका रहेका छन् । यससँगै यो समूहमा २०२३ देखि युरोपेली संघ र अफ्रिकी संघ पनि पर्छन्।

