काठमाण्डौ । वाणिज्य बैंकहरुले १९ अर्ब भन्दा बढी मुनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ४ महिनासम्ममा वाणिज्य बैंकहरुले १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३।११ प्रतिशत कम हो । गत आवको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभाव बैंकहरुको नाफामा देखिएको छ । जेनजी आन्दोलनले क्षति पुर्यापछि ऋण असुली प्रभावित हुँदा बैंकहरुको ब्याज आम्दानी र नाफा संकुचन देखिएको हो ।
राष्ट्र बैंकका अनुसार सो अवधिसम्म ४ बैंकको नाफा मात्रै बढेको छ भने १६ बैंकको नाफामा संकुचन देखिएको छ ।
४ महिनासम्ममा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवसिधम्मको तुलनामा १८।९१ प्रतिशत बढी हो ।
दोस्रोमा नबिल बैंकले पनि सो अवधिसम्म २ अर्ब ४६ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ८।३२ प्रतिशत कम हो ।
त्यस्तै, प्राइम बैंकले १ अर्ब ५८ करोड रुपैयाँ, एभरेष्ट बैकले १ अर्ब ५१ करोड रुपैया, एनएमबि बैंकले १ अर्ब १८ करोड, कुमारी बैंकले १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ ।
यसका साथै राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमा बैंकले ७७ करोड ९२ लाख, प्रभु बैंकले ७३ करोड ७७ लाख, नेपाल एसबिआई बैंकले ६७ करोड २० लाख, सिद्धार्थ बैंकले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ९ लाख, लक्ष्मी सनराइज बैंकले ६२ करोड ८१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६० करोड ९९ लाख, एनआईसी एशिया बैंकले ३४ करोड ३४ लाख, कृषि विकास बैंकले ७ करोड ४९ लाख र सिटिजन्स बैंकले १ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आवको तुलनामा चालु आवको यस अवधिसम्म नाफा बढाउने बैंकहरुमा ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक रहेका छन् ।


