काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं साधारण सभा आह्वान गरेको हो ।
उक्त सभा पुस ३० गते बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्तावत पारित गरिनेछ ।
सभामा संस्थाको संस्थापक र सर्वसाधारणको सेयरपूँजी अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्ने प्रयोजनार्थ यसअघिको साधारण सभाबाट भएको निर्णयानुसार सर्वसाधारण तर्फको थप सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि प्रकृया अगाडि बढाइएकोमा हाल सो स्वीकृत भइ नसकेको परिप्रेक्ष्यमा यस संस्थाले आर्थिक वर्ष २०८१/८२ को बोनस सेयर वितरण पश्चात् कायम हुने सेयर पूँजीमा साविक निर्णय अमोजिम ७०ः३० को अनुपातमा संस्थापक तथा सर्वसाधारणको सेयर पूँजी अनुपात मिलान गर्न आवश्यक भएकोले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संंस्थाले पुस २२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

