काठमाण्डौ । आईपीओ निष्कासनको अनुमति पर्खिरहेको जस्मिन पेन्ट्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी माघ ४ गते चितवनमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारीपूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय लिने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले जारी गर्ने सेयरमा जारीपूँजीको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि र बाँकी १० प्रतिशत सेयर आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वसाधारणलाई छुट्टाइएको सेयरको १० प्रतिशत सेयर श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ प्रतिशत संस्थामा कार्यरत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुटेटाइएको छ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदनसहित गत आवको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत भदौ १८ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर निष्कासनका लागि बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

