काठमाण्डौ । चर्चित सेयर लगानीकर्ता तथा कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा रिहा हुने भएका छन् ।
काठमाण्डौ जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आज(आइतबार) आदेश दिएको हो ।
अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
उनलाई १० दिनअघि काठमाण्डौको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।
पक्राउ परेका उनलाई हिरासतमा राखी थप अनुसन्धान गरिएको थियो । उनले हिरासतभित्रै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूमाथि पूर्वाग्रही भएर कारबाही गराउने काम गरेको भन्दै अनसन पनि थालेका थिए । उनले भोक हड्ताल समेत गरेका थिए ।
पक्राउ परेको केही दिनपछि परिवारजनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको थियो । अग्रवाल पक्षले हिरासतबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने र सीआईबीलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
अदालतले अग्रवाललाई थप हिरासतमा राखेर अनुसन्धान गरिरहनुपर्ने कारण र आधार नदेखिएको भन्दै धरौटीमा रिहा गर्न भनेको हो ।

