काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा एनएलजी इन्स्योरेन्स, बिन्धवासिनी हाइड्रो र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात एनएलजी इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ६७१.१५ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९८ रुपैयाँ कायम थियो । कम्पनीले गत आवसम्मको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत छुट्टाइएको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते २० औँ वार्षिक साधारण सभा डाकेको छ ।
यस्तै बिन्धवासिनी हाइड्रोले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ४५५.१४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७७.९० रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यही पुस ३० गते आयोजना हुन लागेको कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेशनल लघुवित्तको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार १४२.२३ रुपैयाँ निर्धारण भएको छ । स्थाले गत आवका लागि हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
आजको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

