काठमाण्डौ । चालु आवको पाँच महिनामा धितोपत्र बजार पूँजीकरण ६.१९ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंसिर महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब ६८ अर्ब १६ करोड ७१ लाख रुपैयाँमा कायम भएको छ ।
चालु आवको पहिलो महिनामा भने धितोपत्र बजार पूँजीकरण ४६ अर्ब ५६ अर्ब २७ करोड ३५ लाख रुपैयाँ रहेको थियो । पाँच महिनासम्म आइपुग्दा अधिकांश समूहको धितोपत्र बजार पूँजीकरण हिस्सा घट्न पुगेको छ ।
सो अवधिसम्म उत्पादन तथा प्रशोधन समूह र होटल समूहको मात्रै बजार पूँजीकरण बढेको छ भने बाँकी सबै समूहको घट्न पुगेको छ ।
विशेषतः सेयरबजारमा सूचीकृत कम्पनीहरुको सेयरभाउ बढ्दा र सेयर कित्ता थपिदा बजार पूँजीकरण बढ्न पुग्छ । पाँच महिनासम्म आइपुग्दा अधिकांश समूहको बजार पूँजीकरण घट्दा सेयरभाउ घटेको बुझ्न सकिन्छ ।
मंसिर महिनासम्म आइपुग्दा कतिपय समूहबाट बोनस सेयर र साधारण सेयरमार्फत उल्लेख्य कित्ता संख्या थपिदा समेत बजार पूँजीकरण भने बढ्न सकेको छैन ।
सो अवधिसम्म सबैभन्दा बजार पूँजीकरण घट्ने समूहमा अन्य समूह रहेको छ । साउन महिनामा ५ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँ रहेको यो समूहको बजार पूँजीकरण मंसिर महिनासम्म आइपुग्दा १२.६० प्रतिशतले घटेर ४ खर्ब ५३ अर्ब ३८ करोड रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, व्यापार समूहको बजार पूँजीकरण पनि ९.४० प्रतिशतले घटेको छ । यो समूहको बजार पूँजीकरण मंसिर महिनासम्ममा २ खर्ब १२ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ । साउन महिनामा भने व्यापार समूहको पूँजीकरण २ खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै, लगानी समूहको ९.०२ प्रतिशतले घटेर ३ खर्ब २२ अर्ब ५३ करोड, विकास बैंक समूहको ८.६४ प्रतिशतले घटेर १ खर्ब ९६ अर्ब ८९ करोड, फाइनान्स समूहको ८.४८ प्रतिशतले घटेर ७४ अर्ब ९ करोड, माइक्रोफाइनान्स समूहको ६.७७ प्रतिशतले घटेर ३ खर्ब ७० अर्ब १० करोड, हाइड्रोपावर समूहको ६.२९ प्रतिशतले घटेर ६ खर्ब ६५ अर्ब ५५ करोड, बीमा समूहको ४.४३ प्रतिशतले घटेर ६ खर्ब ११ अर्ब ६२ करोड र वाणिज्य बैंक समूहको ६.७३ प्रतिशतले घटेर १० खर्ब ४१ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ ।

