काठमाण्डौ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखाबाट लुटिएको एकबोरा पैसा नजिकैको जंगलमा फेला परेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बिजशालासँग मंगलबार राति १०ः३० बजे कुरा गर्दै बैंकको शाखा नजिकै रहेको जंगल क्षेत्रमा बोरामा पैसा फेला परेको सूचना भर्खरै आएको र आफूहरु त्यसतर्फ लागेको जानकारी दिए ।
'स्थानीयबाट जंगलमा बोरामा केही पैसाहरु फेला परेको कुरा आएको छ, हामी घटनास्थलतर्फ जाँदैछौं ।' उनले भने-'बैंकबाट कति पैसा लुटियो भन्ने कुरा पनि अझै यकिन भएको छैन । बुधबार बिहानसम्म थाहा होला ।'
उनका अनुसार बैंकको सो शाखामा ६ ७ जनाको समूहमा नकाबधारीहरु आएर कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । बैंकका सुरक्षागार्डलाई आक्रमण गरी गम्भीर घाइते बनाई लुटेरा समूहले बैंक लुटपाट गरेको थियो ।
लुटेराहरु चढेर आएको गाडी तथा त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई ती चालकले आफूलाई बिवाहका लागि भन्दै गाडी भाडामा लिएको र बैंक लुट्न प्रयोग गरेको बयान दिएका छन् । उनको बयान तथा पूरै घटनाको विषयमा मिहीन अनुसन्धान थालिएको एसपी सुवेदीले जानकारी दिए ।
उनकाअनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य समेत तीव्र पारिएको छ ।
समाचारमा प्रयोग भएको तस्विर: सिन्धुलीको एसबीआई बैंक लुटपाटको घटनामा प्रयोग भएको टाटा सुमो गाडी प्रहरी नियन्त्रणमा ।

