काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी निर्वाचनका लागि तयार हुने राजनीतिक दलका घोषणापत्रमा आर्थिक एजेण्डालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत परिसंघले समग्र अर्थतन्त्रको सुधार, औद्योगिकीकरण र लगानी प्रवर्द्धनलाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्न दलहरूलाई सुझाव दिएको हो ।
परिसंघका अध्यक्ष वीरेंद्रराज पाण्डेले पछिल्ला वर्षहरूमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तनले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै घोषणापत्रमा समेटिने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनका अनुसार राजनीतिक स्थिरतासँगै सबल अर्थतन्त्र नै मुलुकको विकासको आधार हो, त्यसैले आर्थिक नीति, योजना र कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट खाका घोषणापत्रमै देखिनुपर्छ ।
सीएनआईले सुशासन, उद्योग–उत्पादन विस्तार, रोजगारी सिर्जना, लगानी वृद्धि, कर प्रणाली सुधार, सूचना प्रविधिमा आधारित उद्योग प्रवर्द्धन, पूर्वाधार विकास, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनजस्ता विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ । साथै, नयाँ कानुन निर्माण र विद्यमान कानुन सुधारमार्फत व्यवसायमैत्री वातावरण बनाउने विषयलाई पनि घोषणापत्रमा स्पष्ट रूपमा समेट्न आग्रह गरिएको छ ।
परिसंघले दलहरूको घोषणापत्रमा गरिने प्रतिबद्धता र सरकारमा पुगेपछि हुने कार्यान्वयनबीच ठूलो खाडल देखिएको अनुभव उल्लेख गर्दै यसपटक त्यसलाई न्यूनिकरण गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएको छ । आर्थिक विकासका लागि दीर्घकालीन दृष्टिकोण, प्राथमिकताका क्षेत्र र समयबद्ध कार्ययोजनासहित घोषणापत्र तयार गर्न सीएनआईको सुझाव छ।
सीएनआईका अनुसार औद्योगिकीकरण, प्रत्यक्ष वैदेशिक लगानी, सीप विकास, ऊर्जा, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रलाई समेटेर समग्र आर्थिक रूपान्तरणको स्पष्ट रोडम्याप घोषणापत्रमा आउनुपर्छ । परिसंघले आगामी वर्षहरूमा अर्थतन्त्रलाई ठूलो आकारमा विस्तार गर्ने लक्ष्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा अध्ययनसमेत अघि बढाइरहेको जनाएको छ।

