काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.१९ प्रतिशत अर्थात ५.३८ अंकले बढेर २ हजार ७३१.८९ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६४.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर ११ अर्ब ४९ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार बजार जानकार अजय सिंह थापा (जय शम्भु) भन्छन्, ‘दुई दिन करेक्सन देखिएको बजारमा एउटा सानो करेक्सन पुरा भएको छ । तर मार्केटको मनोविज्ञान पक्ष हेर्दा खासै माथि जाने जस्तो देखिदैन । तर बजार २८ सय भन्दा माथि एकचोटी गएर झर्ने सम्भावना भने छ । माथिको ट्रेण्ड नै सकिएको त भन्न सकिँदैन तर बजार एक्युरेट कुन विन्दुमा पुग्छ भनेर यकिन गर्न सकिँदैन । एउटा स्विङ माथि जाने त देखिन्छ तर २८ सय माथि जाने सम्भावना न्यून नै छ । हिजो अस्ति बजार घट्नुलाई बजार डाउन ट्रेन्डमा झरेको होइन, बजार करेक्टिभ र्यालीमै झरेको देखिन्छ ।’
उनले थपे,‘करेक्टिभ र्यालीमा जहाँबाट बजार बढ्न सुरु गर्छ बजार घटेर त्यहि विन्दुमा पुग्ने देखिन्छ । तर यदि फर्स्ट वेभ हो भने मार्केट जति बढ्यो त्यसको ६० प्रतिशत मात्रै घट्ने सम्भावना रहन्छ । अहिले सम्म मार्केटमा जसरी भोल्युम क्याण्डल उतारचढाव भइरहेको छ वा स्विङ भइरहेको छ त्यो करेक्टिभ वेभकै साइकोलोजी हो । अहिले मार्केट २७ सयको विन्दु आसपास रहँदा बजारमा १८÷२० अर्बको कारोबार भएको भए फर्स्ट वेभको मार्केट हुन्थ्यो तर यसलाई करेक्टिभ र्यालीकै मार्केट भन्न सकिन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.२४ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१४ प्रतिशत, होटल ०.०५, हाईड्रो ०.९९, उत्पादन तथा प्रशोधन ०.४१, म्युचुअल फण्ड ०.२५, अन्य ०.३० र व्यापार ०.२२ प्रतिशतले बढ्यो ।
यो दिन लगानी समूह सर्वाधिक अर्थात ०.१६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१० प्रतिशत, जीवन बीमा ०.०९, लघुवित्त ०.१४ र निर्जीवन बीमा समूह ०.०७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८३ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, राधी विद्युतको ५४ करोड ३६ लाख, एसवाई प्यानलको ४९ करोड ८८ लाख, युनाइटेड मोदी हाईड्रोको ४८ करोड ७८ लाख र रिभर फल्स पावरको ३० करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट, आँखुखोला जलविद्युत र मिथिला लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो । पिपुल्स पावरको सेयरमूल्य आज ९.२२ प्रतिशत, बुद्धभूमी नेपालको ९.०४, श्री इन्भेष्टमेन्ट फाइनान्सको ८.४० र त्रिशुली जलविद्युतको सेयरमूल्य ७.४३ प्रतिशतले बढ्यो ।
ओम नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक अर्थात ४.६० प्रतिशतको गिरावट आयो । यस्तै हिमालयन पावर पार्टनरको सेयरमूल्य २.६६ र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य २.६० प्रतिशतले घट्यो ।

