काठमाण्डौ । पोखरा फाइनान्सको २८ औं तथा २९ औं साधारण सभा बुधबार पोखरा स्थित दरबारथोक बैक्वेटमा सम्पन्न भएको छ । साधारण सभामा अध्यक्ष राज कुमार गुरुङले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण एवं सोसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।
साधारण सभाले समृद्धि फाइनान्ससँग बराबरी सेयर अनुपातमा मर्ज हुने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । गत साउनमा समृद्धि फाइनान्स र पोखरा फाइनान्सले गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको समझदारी गरेका थिए ।
मर्जर प्रक्रिया अघि बढाउन संयुक्त मर्जर समितिले दुवै संस्थाका सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गरेको थियो । मूल्यांकनकर्ताले दुवै वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको प्रतिवेदन तयार पारेको थियो । त्यो प्रस्ताव साधारणसभाले पारित गरेको हो ।
साधारण सभाले अनुमोदन गरेलगत्तै दुबै संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन् । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि दुबै संस्था गाभिएर ’पोखरा फाइनान्स लिमिटेड’ का नामबाट कारोबार थाल्ने छन् ।

