काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.६४ प्रतिशत अर्थात १७.५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४६२.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १४ अर्ब ५६ करोड ३१ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार कविराज तिमिल्सिना भन्छन्, ‘आजको बजार घटाई सामान्य नाफा बुक हो । गत साता बजार बढेकाले लगानीकर्ताहरुले नाफा बुक गर्दा आज सामान्य करेक्सन देखिएको हो । नेप्सेमा आएका नयाँ कम्पनीहरुमा राम्रै मार्जिन देखिएपछि लगानीकर्ताहरुले नाफा बुक गरेको बुझ्न सकिन्छ । आज भोल्युम १४ अर्ब रुपैयाँमाथिको छ । बजारमा ट्रेडरहरु हाबी हुँदा थोरै मार्जिनमा पनि बिक्री गर्ने प्रवृत्तिले बजारमा करेक्सन देखिन पुगेको छ । तर मार्केटको सिनारियो हेर्दा खासै डराउनुपर्ने अवस्था भने छैन । चुनावी माहोल भएकाले लगानीकर्ताहरुमा कन्फिडेन्ट बढेको छ । बजार बढ्नका लागि सकारात्मक पक्षहरु छन्, जसकारण चुनावअघि एउटा राम्रो र्याली आउने जस्तो देखिन्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज हाईड्रो,लगानी र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु आज क्रमशः०.३८, ०.०५ र ०.३६ प्रतिशतले बढे ।
यो विकास बैंक समूह सर्वाधिक अर्थात २.२२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४७ प्रतिशत, फाइनान्स १.७५, होटल १.२९, जीवन बीमा ०.६३, उत्पादन तथा प्रशोधन २.१२, लघुवित्त ०.६०, निर्जीवन बीमा ०.६८, अन्य १.१४ र व्यापार ०.१७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, एसवाई प्यानलको ५२ करोड २९ लाख, युनाइटेड मोदी हाईड्रोको ४६ करोड ६४ लाख, युनियन हाईड्रोपावरको ४४ करोड ६२ लाख र राधी विद्युतको ४३ करोड ३० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज हिमाल दोखला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.२३ प्रतिशतले बढ्यो । शिवश्री हाईड्रोको सेयरमूल्य पनि आज ९.१९ प्रतिशत, कालिका पावरको ८.३२, राँवा इनर्जीको ७.४६ र शुभम् पावरको सेयरमूल्य ५.९२ प्रतिशतले बढ्यो ।
आज तीनवटा कम्पनीको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । यस्तै सान्भी इनर्जीको सेयरमूल्य ९.८५ प्रतिशत र दरमखोला हाईड्रोको सेयरमूल्य ९.३८ प्रतिशतले घट्यो ।

