बुधबार, श्रावण ६,२०८३ 10:41:14
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:41:14
Bizshala
Global IME Bank Limited

एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा

एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा
New Office

काठमाण्डौ । विद्यार्थीहरूमा एआई, रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्टिमपेडियासँगको सहकार्यमा स्किल्सअपले यही माघ २६ गते ‘कोडभर ७.०’ नामक राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ।

काठमाण्डौको बत्तिसपुतलीस्थित अनपम फुडल्याण्डमा सञ्चालन हुने प्रतियोगितामा देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट करिब ५०० विद्यार्थी सहभागी हुनेछन्। 

प्रतियोगितामा सहभागी विद्यार्थीहरू ७ देखि १८ वर्ष उमेर समूहका हुनेछन्, जसलाई इलिमेन्टरी, जुनियर र सिनियर गरी तीन वर्गमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ।

प्रतियोगिताका ट्र्याकहरूमा इन्नोभेसन तथा उद्यमशीलता, एआई रोबो च्यालेन्ज, रोबो सकर र वेलनेस वेभ रहेका छन्। विद्यार्थीहरूले दिगो विकास लक्ष्यसँग मेल खाने सामाजिक आविष्कार, स्वास्थ्य प्रविधि, रोबोटिक चुनौती तथा रोबो फुटबलसम्बन्धी परियोजनाहरू प्रस्तुत गर्नेछन्।

प्रतियोगितामा फायर डिटेक्सन सिस्टम, सोलार ट्र्याकिङ सिस्टम, अटोमेटिक पेट फिडर, मेडिसिन रिमाइन्डर, वाटर क्वालिटी मोनिटरिङ, क्यालोरी ट्र्याकिङ सिस्टम, स्मार्ट स्ट्रिट लाइट, ब्लुटुथ कन्ट्रोल्ड डक्टर रोबोट, क्यु म्यानेजमेन्ट सिस्टम, वेदर मोनिटरिङ सिस्टम लगायत स्वास्थ्य, ऊर्जा, एआई, अटोमेसन, क्लाइमेट र इको–इनोभेसनसँग सम्बन्धित १०० भन्दा बढी परियोजनाहरू प्रदर्शनीमा रहनेछन्।

आयोजकका अनुसार प्रदर्शनीलाई २,५०० भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। स्किल्सअपले प्रतियोगिताको उद्देश्य प्राविधिक उत्कृष्टता प्रोत्साहन गर्नु, सिद्धान्त र अभ्यासबीचको दूरी घटाउनु, स्थानीय प्रतिभाको पहिचान गर्नु तथा विद्यार्थीहरूमा उद्यमशील सोच विकास गराउनु रहेको जनाएको छ।

प्रतियोगिताका विजेताहरूका लागि कुल १० लाख रुपैयाँ बराबरको पुरस्कार व्यवस्था गरिएको छ। साथै, प्रतियोगिताबाट छनोट हुने शीर्ष २०–२५ टोलीले आगामी मे महिनामा इन्डोनेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

राष्ट्रिय प्रतियोगिताअघि स्किल्सअपले विभिन्न विद्यालयहरूसँग सहकार्य गर्दै सहभागी विद्यार्थीहरूका लागि विशेष बुटक्याम्प तालिम पनि सञ्चालन गरेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.