काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २२ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता गरेका थिए ।
समारोहमा प्रमुख अतिथि गृह मन्त्री ओम प्रकाश अर्यालले विशेषतः डिजिटल डिभाइड न्यूनीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने काममा कम्पनीले गरेको योगदान प्रशंसनीय भएको बताउँदै सुशासन मार्फत नागरिक र सरकारको सम्बन्धलाई प्रगाढ बनाउने तर्फ कम्पनीबाट उपलब्ध सेवा एवम् कम्पनीका पूर्वाधारहरुको महत्वपूर्ण योगदान रहने बताए । सरकारले लिएका नीति एवम् कार्यक्रमलाई आत्मसात गरी सरकारको नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्ने र कम्पनीको सुदृढीकरण र विकासमा सरकारको अभिभावकत्व सदैव रहने बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गरी सर्वसुलभ रूपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै नेपाल टेलिकमले देशको प्रमुख सेवा प्रदायकको रुपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने बताइन् । उनले विशेष गरी दुर्गम क्षेत्रहरूमा डिजिटल सेवाहरू पुग्ने गरी आवश्यक ढाँचा तयार पार्न जरुरी भएको र यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र मुलुकलाई डिजिटाइजेसन गर्ने अभियानलाई गति दिने बताइन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले त्यसै अनुसार नेटवर्क निर्माण र विस्तार गरी बजार अझै विस्तार गर्न सक्ने सम्भावना भएको र त्यसै अनुसार आम्दानी समेत वृद्धि गर्न सकिने भएकोले त्यसतर्फ लाग्न सुझाव दिए । उनले नेपाल टेलिकमले प्राधिकरणमार्फत गरिरहेका विभिन्न परियोजनाहरु समयमै सम्पन्न गर्नेतर्फ लाग्नु पर्ने बताए ।
सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोक बहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धा भनिए पनि नेपाल टेलिकम जस्ता संस्थाहरुले लाइसेन्स लिन र नवीकरण गर्न बढी रकम तिर्नु परेको र आगामी दिनमा यसलाई अझै सच्याउन सकिने तर्फ ध्यान दिन आग्रह गरे । कर्मचारी सरोकारका विषयमा सञ्चालक समिति र कम्पनी व्यवस्थापन सबै मिलेर अगाडि बढ्नु पर्ने आवश्यकतामा उनले जोड दिए ।
नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै नेपाल टेलिकमले फोरजीरएलटीई सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको र परिणामस्वरुप सातै प्रदेशका ७७ जिल्लाका कुल ७४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार भएको बताए । फाइभजी सेवा सुरुवात गर्नको निम्ति आपुर्तिकर्ताबाट प्राप्त भएको प्रस्तावको अध्ययन सम्पन्न भई रिभ्युको चरणमा रहेको, कम्पनीले एफटीटीएच सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको, ‘राष्ट्रको सञ्चार’ भएका कारण नेपाल टेलिकमले विगत देखि नै दुर्गम र अति विकट क्षेत्रमा समेत विभिन्न प्रकारले सेवा उपलब्ध गराइरहेको, डेटा सेन्टर निर्माणको निम्ति प्राप्त भएका उपकरणहरुको जडान सम्पन्न हुने चरणमा रहेको, नयाँ बिलिङ सिस्टमको पुनः बोलपत्रको लागि बोलपत्र कागजात पुनरावलोकन गर्न कमिटी गठन भई कार्य प्रारम्भ भएको, प्राइभेट क्लाउड प्लेटफर्मको नयाँ बोलपत्र आब्हानको निम्ति बोलपत्र कागजातहरु रिभ्युको क्रममा रहेको जानकारी दिए ।
कम्पनीको २२औं वार्षिकोत्सवको अवसरमा
जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको कम्पनीमा रहेको ग्राहक विवरण अनलाइन केवाईसी अपडेटको परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट भैरहेकोमा अब यसलाई देशभरका कार्यालयबाट अपडेट गर्न सकिने व्यवस्था गरिएको छ ।
माघ २२ देखि माघ २८ सम्म (७ दिन) प्याकेज सब्स्क्रीप्सन गर्ने जीएसएम प्रिपेड/पोस्पपेड ग्राहकलाई उपलब्ध गराइने छ । यस अनुसार रु २२२ मा २२ दिन भ्यालिडिटी भएको २२ जीबी डेटासहितको डबल टु प्याक र रु. २२ मा १ दिन भ्यालिडीटी भएको २ जीबी डेटासहितको डेली टु प्याक उपलब्ध हुनेछ । त्यसैगरी रु. २२२ मा २२ दिन भ्यालिडीटी भएको २२२ मिनेट अल नेट भ्वाइस, फोर जीबी डेटा र २२२ अल नेट एसएमएससहितको सेलिब्रेसन कम्बो प्याक उपलब्ध हुनेछ ।
दूरसञ्चार कार्यालयहरुमा रहेको काउण्टरबाट हाल रु. ९० मा बिक्री गर्दै आएको प्रिपेड सिम रु २२ मा उपलब्ध गराइने छ । यो योजना नेपाल टेलिकमको सबै काउण्टरबाट माघ २२ देखि फाल्गुन १४ गते सम्म २२ दिन सम्म संचालन गरिने छ ।
एफटीटीएच सेवा अन्तर्गतका सबै प्याकेजहरु नयाँ जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क रु. ५०० माघ २२ देखि फागुन २२ गते सम्म मिनाहा गरिने छ । बिद्यार्थी अफरको हकमा भने उक्त अफरमा उल्लेख गरिए बमोजिम हुनेछ । एफटीटीएच सेवा अन्तर्गत हाल सञ्चालनमा रहेको बिद्यार्थी अफरको समयाबधि २२ फागुन २०८२ सम्म थप गरिएको छ ।
२१ माघ २०८२ सम्म कम्पनीको यियरली/मल्टी यियरली एफटीटीएच डेटा सेवा प्रयोग गरिरहेका सम्पूर्ण ग्राहकहरुलाई ,निजले उपलब्ध गराएको कम्पनीको मोवाइल नम्बरमा साविकमा उपलब्ध गराउँदै आएको मोबाइल डाटाको अलावा २२ जीबी मोवाइल डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो बोनस मोवाइल डाटा २२ माघ देखि २८ माघ सम्म यियरली/मल्टी यियरली एफटीटीएच डेटा नयाँ जडान गर्ने तथा नवीकरण गर्न ग्राहकहरुलाई समेत नवीकरण/नयाँ जडान गरेको भोलिपल्ट उपलब्ध हुनेछ ।
२२–२८ माघ २०८२ सम्म एक महिना÷तीन महिना डाटा प्याकेज लिएका ग्राहकहरुले यियरली÷मल्टी यियरली एफटीटीएच डेटा प्याकेज रिन्यू गरेमा सो ग्राहकलाई समेत २२ जीबी मोवाइल डाटा बोनसको रुपमा उपलब्ध गराइने छ ।
एफटीटीएच जडान गर्न २८ माघ २०८२ सम्म डिमान्ड पोर्टलमा दर्ता गराउने ग्राहकहरुलाई समेत बोनस डाटा उपलब्ध गराइने छ । यसरी उपलब्ध गराइने मोवाइल बोनस डाटाको भ्यालिडिटी ७ दिनको हुनेछ ।
पुरानो बाँकी बक्यौता तथा आसामी असुली कार्यलाई निरन्तरता दिइने कार्यक्रम स्वीकृत भएको र सोको कार्यान्वयनको लागि आ.व. २०७९÷८० सम्मको बक्यौता रकम मिति २०८२ मंसिर १ गते देखि मिति २०८२ माघ मसान्त सम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट दिने निर्णय भएकोमा सो जरीवाना छुटको म्याद २०८२ चैत्र मसान्त सम्म बढाइएको छ ।
कार्यक्रममा कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, लिज लाइन तर्फका ठुला ग्राहक तथा एफटीटीएच र एक्स–जीपोनतर्फ सबैभन्दा बढी ग्राहक बनाउने उत्कृष्ट कार्यालयलाई सम्मान गरिएको थियो । साथै, कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

