काठमाण्डौ। विद्युत बिक्री आम्दानीमा वृद्धि भएसँगै खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको घाटा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६९ लाख ३३ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ६० लाख रुपैयाँ रहेको थियो।
कम्पनीको खर्चतर्फ हेर्दा प्रशासनिक खर्च १ करोड ४७ लाख रुपैयाँबाट घटेर १ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज खर्च पनि ३ करोड ८७ लाख रुपैयाँबाट घटेर ३ करोड ३० लाख रुपैयाँमा झरेको छ।
यद्यपि, कम्पनीको रिटेन्ड अर्निङ १० करोड १३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.७४ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८९.१२ रुपैयाँ कायम भएको छ। साथै, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २९१.४१ गुणा ऋणात्मक र तरलता अनुपात ८.३३ प्रतिशत रहेको छ।

