काठमाण्डौ । इतिहासकै विवादास्पद रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ सूचिकरणको विषयलाई लिएर सेयर बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा विवाद सिर्जना भएको छ ।
नेप्सेको उच्च व्यवस्थापन रिलायन्सको विवादास्पद आईपीओलाई सहज सूचिकरणका लागि ओपनिङ रेञ्जसम्बन्धी व्यवस्था परिवर्तनको प्रयासमा लागेपछि सोही विषयलाई लिएर सञ्चालक समितिसँगको सम्बन्ध चिसिएको हो ।
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईं रिलायन्सकै लागि भनेर ओपनिङ रेञ्जसम्बन्धी साबिकको व्यवस्था संसोधन गरी सहज सूचिकरणको वातावरण बनाउने कसरत गरिरहेका छन् । यसैका लागि उनले नेप्सेको कानून उपसमितिलाई ओपनिङ रेञ्ज सम्बन्धी व्यवस्था हेरफेरका लागि आवश्यक अध्ययन गरी सुझाव प्रतिवेदन पेश गर्न आग्रह गरेका थिए । सो उपसमितिले आवश्यक अध्ययन गरिएको भन्दै आफ्नो प्रतिवेदन तयार गरिसकेको छ । नेप्से नेतृत्व सो प्रतिवेदन सञ्चालक समितिबाट पारित गराई रिलायन्सको प्रकरणमा मुछिनबाट जोगिने प्रयासमा रहेकै बेला सो सूचना बिजशालामार्फत चुहिएपछि व्यवस्थापन र सञ्चालक समितिबीच अविश्वास बढेको स्रोतको भनाई छ ।
बिजशालामा यसअघि रिलायन्सकै लागि भनेर ओपनिङ रेञ्ज सम्बन्धी व्यवस्था परिवर्तन गर्ने प्रयास भइरहेको समाचार प्रकाशन भएको थियो । सो समाचार कसरी लिक भयो भन्ने विषयमा नेप्सेको उच्च व्यवस्थापन र सञ्चालकबीच मनमुटाव बढ्न सुरु भएको थियो । सो विषय अहिले निकै सम्वेदनशील बनेको र समाचार प्रकाशन भएपछि नेप्सेका केही सञ्चालक र सीईओबीच सम्बन्ध समेत बिग्रिएको स्रोतको दाबी छ ।
"नेप्से उच्च व्यवस्थापनले केही सञ्चालकलाई टार्गेट गरी मिडियामा ती कुरा त्यहीँबाट लिक भएकोसम्मको आरोप लगाएको छ ।" उच्च स्रोतले भन्यो-"तर सञ्चालकहरुले भने आफूहरुसम्म आइनपुगेको विषय मिडियामार्फत नै आफूहरुले पनि थाहा पाएको भन्दै नेप्सेका सीईओको गतिविधिप्रति शंका गरेका छन् । यो प्रकरणमा नेप्सेका सीईओ नियत ठीक नभएकोसम्मको टिप्पणी हुन थालेको छ । एकअर्काप्रति शंका बढ्न थालेपछि सम्बन्ध समेत बिग्रिएको छ ।"
बिजशालामा नेप्से व्यवस्थापनले रिलायन्सकै सहजताका लागि व्यवस्था नै परिवर्तन गर्न लागेको समाचार प्रकाशित भएपछि भने व्यवस्था परिवर्तनका लागि सुरु भएको प्रक्रिया नै अहिले अलपत्र परेको बुझिएको छ । सोही विषयको विवादमा थप फसिने डरले नेप्सेका सीईओले कानून उपसमितिले दिएको सुझाव सञ्चालक समितिमा औपचारिक रुपमा पेश गर्ने हिम्मत गरिसकेका छैनन् भने सञ्चालक समिति समेत सो प्रस्ताव आए सहजै स्वीकार गर्ने मूडमा छैन ।
"कुनै कम्पनी विशेषलाई फेभर हुने हिसाबले साबिकको व्यवस्था परिवर्तनको खेल हुनु राम्रो होइन ।" एक सञ्चालकले बिजशालासँग भने-"नेप्से सीईओको चाहनाअनुसार बढेको खेल सफल बनाउनु भनेको बजारमा औपचारिक रुपमा विकृति भित्र्याउनु बराबर हो । ओपनिङ रेञ्ज सम्बन्धी जे व्यवस्थाअनुसार यसअघि काम भइरहेको छ, त्यो परिवर्तन गर्न आवश्यक नै छैन । यस्तो विवादमा नेप्से फस्नु हुँदैन ।"
उता, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चापागाईं भने आफूले कुनै कम्पनी विशेषलाई फोकस गरेर ओपनिङ रेञ्ज सम्बन्धी व्यवस्था संसोधन गर्न नलागेको प्रष्टीकरण दिएका छन् । "भोलिका दिनमा प्रिमियम वा बुक बिल्डिङबाट आईपीओ जारी गर्ने अन्य सबै कम्पनीका लागि ओपनिङ रेञ्ज तोक्न सहज होस् भन्ने उद्देश्यले केही गर्न सकिन्छ कि भनेर गृहकार्य भएको हो ।" उनले भने-"यसलाई रिलायन्ससँग जोडेर हेरिनु, व्याख्या गरिनु गलत छ । यसमा हाम्रो कुनै स्वार्थ छैन ।"
ओपनिङ रेञ्जसम्बन्धी व्यवस्था संसोधनका लागि सुरु गरिएको प्रक्रिया कहाँ पुग्यो त ? भन्ने प्रश्नमा सीईओ चापागाईले 'अहिले सबै कुरा अड्किएको' प्रतिक्रिया दिए । "अब तपाईहरुजस्तै बजार बुझेका साथीभाईहरुको सुझावका आधारमा अगाडि बढ्नुपर्छ ।" उनले भने-"यो विषयमा सबै पक्षबाट सुझाव आओस् भन्ने चाहना छ ।"
नेप्सेकै अर्को एक स्रोतले भने रिलायन्सकै लागि भनेर नेटवर्थको पाँचगुणासम्म ओपनिङ रेञ्ज तोक्न सकिने व्यवस्था गर्न लागिएको दाबी गरेको छ । तर, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने धेरै वर्षअघि नेटवर्थको ५ गुणासम्म ओपनिङ रेञ्ज तोकिने व्यवस्था रहेको र फेरि पुरानै व्यवस्थामा फर्किएर नेप्सेले प्रतिगामी कदम नचाल्ने दाबी गरे । उनका अनुसार रिलायन्सको केशमा तीनवटा आर्थिक वर्षको नेटवर्थमध्ये कुनलाई आधार बनाएर ओपनिङ रेञ्ज तोक्ने हो भन्ने विषयमा अन्यौल भएका कारण समस्या आएको हो ।
यसअघि प्रकाशित समाचार :
-रिलायन्सको आईपीओ सूचिकरण किन रोकिएको हो ? हल्ला एउटा, भित्री कारण अर्कै !

