काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आफ्नो आम्दानीमा सुधार गर्दै घाटाको अन्तर कम गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७४ लाख ९१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ५९ लाख रुपैयाँ घाटामा थियो ।
यो अवधिमा कम्पनीको कुल आम्दानी ७८.४३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १ करोड ४६ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म २ करोड ६० लाख रुपैयाँबराबरको आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्च १ करोड ३२ लाख रुपैयाँबाट घटेर ८५ लाख १६ हजारमा सीमित बनेको छ । यद्यपी कम्पनीको सञ्चालन खर्च ४४ लाख ८७ हजारबाट बढेर ७१ लाख ५२ हजार, कर्मचारी सुविधा खर्च ३४ लाख ८६ हजारबाट बढेर ३९ लाख ६१ हजार, प्रशासनिक खर्च २७ लाख ४८ हजारबाट घटेर २७ लाख २२ हजार र बिक्री र प्रवद्र्धन खर्च ५४ हजारबाट बढेर २ लाख ३९ हजार पुगेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ भने २१ करोड ३० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.२६ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९२.४७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३८.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३ हजार १३५.२१ गुणा ऋणात्मक कायम भएको छ ।

