काठमाण्डौ । सरकारले भदौ २३ र २४ गतेका घटनासम्बन्धी गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गर्ने भएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगले पेश गरेको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्ले औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। प्रतिवेदनका विषयमा विस्तृत विवरण सोमबार सार्वजनिक गरिने उनले बताए।
यसैबीच, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा गृहमन्त्री अर्याललाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
बैठकले युद्ध प्रभावित पश्चिमी एसियाली मुलुकहरू तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने निर्णय समेत गरेको छ। यसका लागि रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामाबाद, काइरो र तेल अवीवस्थित नेपाली दूतावास तथा जेद्दा र दुबईस्थित महावाणिज्य दूतावासलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको प्रवक्ता अर्यालले बताए।
त्यस्तै, नेपालका हिमनदी बेसिन क्षेत्रमा सम्भावित हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनजन्य बाढीबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि सञ्चालन हुने परियोजनाका लागि प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। हरित जलवायु कोषमार्फत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बाट प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गरिएको सरकारका प्रवक्ताले जानकारी दिए।

