काठमाण्डौ । इरानसँग जारी तनावलाई शान्त गर्ने प्रयासस्वरूप अमेरिकी प्रशासनले यसै साताको अन्त्यतिर पाकिस्तानमा उच्चस्तरीय वार्ता आयोजना गर्ने तयारी गरिरहेको छ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनलाई उद्धृत गर्दै दुई वरिष्ठ अधिकारीहरूले यस्तो जानकारी दिएका हुन्।
प्राप्त जानकारी अनुसार, अमेरिकाका उपराष्ट्रपति जेडी भान्स नेतृत्वमा प्रतिनिधिमण्डल पाकिस्तान जाने प्रारम्भिक योजना बनाइएको छ। यद्यपि, सुरक्षा तथा अन्य कारणले वार्तास्थल परिवर्तन हुन सक्ने सम्भावना रहेको र टर्की पनि वैकल्पिक स्थानका रूपमा अघि आएको बताइएको छ।
अधिकारीहरूले वार्ताको समय, स्थान र सहभागीहरू अझै अन्तिम नभएको जनाउँदै योजना लचिलो अवस्थामा रहेको बताएका छन्।
यसबीच, पाकिस्तानले अमेरिका र इरानबीचको कूटनीतिक पहलमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। वाशिङ्टनले प्रस्ताव गरेको १५ बुँदे योजना पाकिस्तानमार्फत तेहरानलाई पठाइएको छ, जसमा इरानको आणविक कार्यक्रम र ब्यालेस्टिक मिसाइल विकासजस्ता संवेदनशील विषयहरू समेटिएका छन्।
टर्कीले पनि वार्तालाई सहज बनाउन सहयोगी भूमिका खेलेको बताइएको छ।
ह्वाइट हाउसमा आज पनि यस सम्बन्धी छलफल जारी रहने एक अधिकारीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उपराष्ट्रपति भान्ससँगै विदेशमन्त्री मार्को रुबियो, ज्वाइँ जारेड कुश्नर तथा विशेष दूत स्टिभ विटकफ वार्ता प्रक्रियामा संलग्न रहेको बताएका छन्।
तर, यी सबै उच्च अधिकारीहरू सम्भावित वार्तामा प्रत्यक्ष सहभागी हुने वा नहुने विषय अझै स्पष्ट भएको छैन।
हाल, कूटनीतिक पहल तीव्र बनिरहेका बेला इरान युद्ध अन्त्यको सम्भावना भने वार्ताको परिणाममा निर्भर रहने देखिएको छ।
-CNN

