काठमाण्डौ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आफू फरार भएको भन्ने समाचारलाई अस्वीकार गर्दै राति १० बजेपछि सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका छन्। उनले “म भागेको छैन” भन्दै आफ्नाविरुद्ध योजनाबद्ध रूपमा गलत प्रचार भइरहेको दाबी गरेका छन्।
बस्नेतले आफ्नो स्टाटसमा लेखेका छन् कि आफूलाई पक्राउ गरेर केपी शर्मा ओलीविरुद्ध भइरहेको भनिएको ‘प्रतिशोधात्मक गिरफ्तारी’को विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ। उनका अनुसार तीन वर्षअघि नै एउटा ‘फेक’ व्यक्तिलाई प्रयोग गरेर आफ्नो विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो, जुन प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको र सोही विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिट समेत खारेज भइसकेको छ।
उनले थप भनेका छन् कि सोही विषयलाई पुनः उठाउँदै पूरक जाहेरीमार्फत मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि तेस्रो पटक नक्कली जाहेरी दिन लगाई आफूलाई पक्राउ गर्ने योजना बनाइएको छ। यसलाई उनले ‘मिडिया ट्रायल’को संज्ञा दिएका छन्।
यसरी उनले स्टाटसमा आफूलाई पक्राउ गर्न खोजिएको विषयलाई चाहिँ स्पष्ट रुपमा स्वीकार गरेका छन् ।
बस्नेतले यस घटनामा बालेन शाह नेतृत्वको सरकार र सुदन गुरुङलाई लक्षित गर्दै कडा आलोचना गरेका छन्। उनले यस्तो कार्यलाई ‘निरंकुश र अधिनायकवादी शैली’को उदाहरण भन्दै यसको परिणाम सम्बन्धित पक्षले भोग्नुपर्ने चेतावनी दिएका छन्।
त्यस्तै, आफ्नो फोन अफ रहेको र आफू फरार भएको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक रहेको उनले बताएका छन्। यस्ता प्रचारमार्फत जनमत भ्रमित गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति सचेत रहन पनि आग्रह गरेका छन्।
बस्नेतको यो प्रतिक्रिया सार्वजनिक भएसँगै उनको गिरफ्तारी सम्बन्धी चर्चा र राजनीतिक तनाव थप चर्किएको छ।

