काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान नयाँ सरकारप्रति तीखा टिप्पणी गरेका छन्।
विशेषगरी बालेन्द्र शाहको नेतृत्वमा बनेको भनिएको नयाँ राजनीतिक धारतर्फ संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।
पोखरेलले आइतबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै निर्वाचनका बेला ‘नयाँ शक्ति’ले सुशासन र देश निर्माणको ठूलो आशा जगाएको तर व्यवहारमा त्यो प्रतिबद्धता नदेखिएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, “चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भो। अहिले सुशासन नयाँको चरित्रमा होइन, पुरानाको खेदोमा खोजिँदै रहेछ।”
उनको यो अभिव्यक्ति नयाँ राजनीतिक शक्ति र नेतृत्वमाथि लक्षित आलोचना भएको रूपमा व्याख्या गरिएको छ। पछिल्लो समय नयाँ नेतृत्वले पुराना दल र पात्रहरूमाथि लगातार प्रश्न उठाउँदै आएको सन्दर्भमा पोखरेलको प्रतिक्रिया आएको हो।


