काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नियमविपरीत सेयर कारोबार गरेको आरोपमा भृकुटी स्टक ब्रोकिङ कम्पनीमाथि कडा कारबाहीको निर्णय गरेको छ ।
सोमबार बसेको सेबोनको सञ्चालक समिति बैठकले भुक्तानी नै नभई लगानीकर्ता दीपक भट्टको खातामा सेयर ट्रान्सफर गरिएको तथ्य फेला परेको दाबीसहित ब्रोकर कम्पनीलाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक सञ्चालकले जानकारी दिएका छन् ।
उनका अनुसार सो ब्रोकरमाथि प्रचलित धितोपत्र ऐनअनुसार आर्थिक जरिवाना समेत लगाउनले निर्णय भएको छ।
उनका अनुसार ब्रोकर नम्बर ५५ ले कानुनले तोकेको प्रक्रियालाई बेवास्ता गर्दै भुक्तानी नलिई सेयर हस्तान्तरण गरेको अनुसन्धानका क्रममा देखिएको थियो । सोही कारण ऐनको दफा ८८ अनुसार निलम्बन गरिएको र कम्पनी, व्यवस्थापन प्रमुख तथा सञ्चालकहरूसँग स्पष्टीकरण माग्ने प्रक्रिया पनि अघि बढाइएको छ ।
छानबिनका क्रममा नेपाल पुनर्बिमा कम्पनीको सेयर खरिद गर्दा अनिवार्य २५ प्रतिशत कोल्याटरलसमेत नराखी कारोबार गरिएको तथ्य खुलेको सेबोनको दाबी छ ।
भट्टले उक्त कम्पनीको सेयर खरिद गरे पनि रकम भुक्तानी नगरेको अवस्थामा ब्रोकरले सिधै उनको नाममा सेयर सारिदिएको पाइएको छ । तर हिरासतमा रहेका भट्टले बयानका क्रममा आफूमाथिको आरोप अस्वीकार गरेका अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।
यो ब्रोकर कम्पनी विभिन्न इन्स्योरेन्स कम्पनीमा सीईओको रुपमा काम गरिसकेका मनोजकुमार लाल कर्णकी पत्नी सुधा कर्णले सञ्चालन गर्छिन् ।

