काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा केही दिनयता कारोबार रकम खुम्चिदै गएको छ । पछिल्लो सरकारले सम्पत्ति शुद्धीकरण छानबिनमा केही ठूला व्यवसायी वा लगानीकर्तालाई पक्राउ गरेपछि त्यसको प्रभाव सेयरबजारमा परेको देखिन्छ ।
ठूला व्यवसायीहरु यसरी धमाधम पक्राउ परेपछि सेयरबजारमा भोल्युम घट्दै गएको केही विज्ञहरुले अनुमान लगाएका छन् । यस्तै कारणले लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थमा छन्, जसकारण पछिल्लो समय बजारमा कारोबार अत्यासलाग्दो गरी सुस्ताइरहेको छ ।
हुन त चैत र वैशाख महिनालाई सिजनल अनुसार बजार नबढ्ने अवधि मानिएतापनि केही दिनअघिको तुलनामा कारोबार रकम ह्वात्तै घट्नुले बजारको स्थायीत्वमा लगानीकर्ताहरु अन्योल देखिएका छन् ।
तर केही लगानीकर्ता तथा विज्ञहरुले भने यो सिजन मुख्यगरी लगानीको सिजन रहेको पनि बताउँछन् । आगामी साउन र भदौ महिनामा बजार बढ्ने सिजन रहेकाले अहिले नै लगानी गरे उचित रिटर्न प्राप्त हुन सक्ने विज्ञहरुको भनाई छ ।
पछिल्लो दिनयता सेयरबजारमा कारोबार रकम सुस्ताइरहेको बेला कतिपय कम्पनीहरुको सेयमूल्य भने करिब–करिब आइपीओकै मूल्यमा पाउन थालिएको छ ।
बजारमा यतिबेला ३० कम्पनीको सेयरभाउ ३ सय रुपैयाँभन्दा कम छ । त्यसमा केही नयाँ कम्पनी पनि रहेका छन् भने अधिकांश पुराना हाइड्रो सेक्टर र बैंकिङ सेक्टरका कम्पनीहरु छन् ।
बजारले लय लिन नसक्दा दुई दर्जनभन्दा बढी कम्पनीको सेयरभाउ न्यून विन्दुमा पुगिसकेको छ । तर लगानीकर्ताहरुलाई उक्त कम्पनीहरुको सेयर खरिद गर्ने उपयुक्त अवसर पनि हुन सक्छ । यदि कसैले बजारमा सस्तो सेयरभाउ रहेका कम्पनीको सेयरमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने उहाँहरुको लागि यी कम्पनीहरु उचित अवसर बन्न सक्छ ।
तर लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था तथा आधारभुत पक्ष विश्लेषण गर्न जरुरी हुन्छ । सस्तोमा पाइयो भन्दैमा झट्टै लगानी गर्दा पनि जोखिम हुन सक्ने भएकाले आफ्नो लगानीबाट कस्तो रिटर्न पाउन सकिन्छ भनेर लगानीकर्ताले अध्ययन गर्न जरुरी हुन्छ ।

अहिले बजारमा लो क्याप भएका कम्पनीको सेयरभाउ चाँडै बढ्ने वा घट्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा लगानीकर्ता आफैं चनाखो हुन सकेमा लो क्याप कम्पनी छानेर लगानी गर्दा उचित हुन्छ ।
साथै हाई क्याप कम्पनीको सेयरभाउ पनि खासै उतारचढाव नदेखिने र रिस्क पनि कम हुने गर्दछ । बजारमा नयाँ लगानीकर्ताहरुका लागि तुलनात्मक रुपमा हाई क्याप कम्पनीहरु र आधारभुत पक्षमा बलिया कम्पनीहरु उचित हुन सक्छ ।
नोटः यो अध्ययन लगानीकर्तालाई कुनै पनि कम्पनीको सेयर खरिद गर्न सिफारिस गरिएको होइन ।

