काठमाण्डौ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकपमा पाकिस्तानको राष्ट्रिय टोलीले अहिलेसम्म स्थान बनाउन नसके पनि, पाकिस्तानको उपस्थितिले भने चार दशकभन्दा बढी समयदेखि विश्वकप मैदान छोडेको छैन। यसको कारण हो पाकिस्तानको सियालकोट शहरमा निर्मित फुटबलहरू, जुन सन् १९८२ देखि अधिकांश विश्वकप प्रतियोगितामा प्रयोग हुँदै आएका छन्।
हाल अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबल प्रतियोगितामा प्रयोग भईरहेको ‘द ट्रिओन्डा’ बल पाकिस्तानी कम्पनी फरवार्ड स्पोर्टले उत्पादन गरेको हो । यो कम्पनी एडिडासका तर्फबाट फिफा २०२६ विश्वकपका आधिकारीक फुटबल आपूर्तिकर्ता हो ।
पाकिस्तानको पञ्जाब प्रान्तस्थित सियालकोटलाई विश्वभर ‘फुटबलको कारखाना’ का रूपमा चिनिन्छ। विश्वमा उत्पादन हुने प्रत्येक १० फुटबलमध्ये करिब ६ वटा यही शहरमा निर्माण हुने गरेको उद्योगीहरूको दाबी छ। विश्वकप, युरोपियन क्लब प्रतियोगिता तथा अन्य अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रयोग हुने उच्चस्तरीय बल उत्पादनमा सियालकोटको विशेष योगदान रहँदै आएको छ।
विश्वकपका लागि आधिकारिक बल उत्पादन गर्ने प्रमुख कम्पनीमध्ये एक फरवार्ड स्पोटले हालका विश्वस्तरीय प्रतियोगिताका लागि पनि बल निर्माण गर्दै आएको छ। यसअघि २०२२ को विश्वकपमा प्रयोग गरिएको अल रिलाह समेत यही कम्पनीले उत्पादन गरेको थियो।
सियालकोट विशेषगरी हस्तसिलाइ (ह्यान्ड–स्टिच्ड( फुटबल उत्पादनका लागि प्रसिद्ध छ। दक्ष कामदारहरूले हातैले सिउने यी बलहरू टिकाउ, सन्तुलित तथा खेलाडीलाई सहज नियन्त्रण प्रदान गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्री हुने गर्छन्। विश्वको हस्तनिर्मित व्यावसायिक फुटबल बजारमा पाकिस्तानको हिस्सा करिब ७० प्रतिशत रहेको बताइएको छ।
फुटबल उत्पादन प्रविधिमा आएको परिवर्तनसँगै सियालकोटका उद्योगहरूले पनि आफूलाई अनुकूल बनाएका छन्। परम्परागत सिलाइ विधिबाट थर्मल बन्डिङ प्रविधितर्फ विश्व फुटबल उद्योग उन्मुख भएपछि स्थानीय उत्पादकहरूले पनि आधुनिक उत्पादन प्रणाली अपनाए। यसै कारण सियालकोटले विश्व फुटबल उद्योगमा आफ्नो स्थान कायम राख्न सफल भएको छ।
करिब ४५ लाख जनसंख्या रहेको सियालकोट पाकिस्तानको सबैभन्दा समृद्ध शहरहरूमध्ये एक मानिन्छ। खेल सामग्री, चिकित्सा उपकरण, शल्यक्रिया सामग्री तथा छालाजन्य उत्पादनहरूका कारण शहरको निर्यात व्यापार वार्षिक अर्बौं डलर बराबर पुगेको छ। खेल सामग्री उद्योगमा मात्रै हजारौँ मानिस प्रत्यक्ष रूपमा रोजगारीमा आबद्ध छन्।
पाकिस्तानको राष्ट्रिय टोली विश्वकप खेल्न नसके पनि सियालकोटका कामदारहरूको सीप, मेहनत र उत्पादनले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा निरन्तर उपस्थिति जनाइरहेको छ। मैदानमा खेलाडीहरू चम्किए पनि उनीहरूले प्रयोग गर्ने बलमार्फत सियालकोटले विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ।

