काठमाण्डौ । पाकिस्तानले ईरान र संयुक्त राज्य अमेरिका बीच चाँडै अर्को चरणको वार्ता सुरु हुन सक्ने संकेत दिएको छ।
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफ ले पछिल्लो समय बनेको सकारात्मक वातावरण र जारी युद्धविरामलाई ध्यानमा राख्दै दुई देशबीच संवाद पुनः अघि बढ्ने अपेक्षा व्यक्त गरेका हुन्।
इस्लामाबादस्थित संसद भवन बाहिर पत्रकारसँग कुरा गर्दै आसिफले हालसम्म कुनै नकारात्मक परिस्थिति नदेखिएको र वार्तापछि सन्तोषजनक माहोल बनेको बताएका छन्। उनका अनुसार अहिलेको अवस्था कूटनीतिक प्रयासहरू सही दिशातर्फ अघि बढिरहेको संकेत हो।
यसअघि शहबाज शरीफ ले पनि इरान-अमेरिका बीच भएको युद्धविरामले संवादको सम्भावना बढाएको बताएका थिए।
उल्लेखनीय छ, पहिलो चरणको वार्ता इस्लामाबादमै आयोजना गरिएको थियो, जहाँ दुवै देशका प्रतिनिधि सहभागी भए पनि ठोस सहमति भने हुन सकेको थिएन। अहिलेको परिस्थितिले पुनः वार्ताको ढोका खुल्ने अपेक्षा गरिएको छ।

