काठमाडौ । हेटौंडा सिमेन्ट उद्योगको उत्पादन कोइला अभावका कारण पुनः बन्द भएको छ। चैत १३ गतेदेखि पुनः सञ्चालनमा आएको उद्योगको उत्पादन केवल १९ दिनमै रोकिएको हो। उद्योग व्यवस्थापनका अनुसार आवश्यक कच्चा पदार्थ खरिदका लागि रकम अभाव भएपछि उत्पादन निरन्तरता सम्भव भएन।
उद्योगलाई दैनिक करिब १२० मेट्रिक टन कोइला आवश्यक पर्छ, तर वित्तीय स्रोतको अभावले आपूर्ति रोकिँदा उत्पादन प्रक्रिया ठप्प भएको जनाइएको छ ।
पछिल्ला सात वर्षदेखि निरन्तर घाटामा सञ्चालन हुँदै आएको उद्योग आर्थिक रूपमा गम्भीर दबाबमा छ। चालु आर्थिक वर्षमा समेत उद्योग वर्षभर पूर्ण क्षमतामा सञ्चालन हुन नसकी करिब ४० दिन मात्र सञ्चालन भएको तथ्यले यसको अस्थिर अवस्था झल्काउँछ।
कर्मचारी तलब भत्ता १० महिनादेखि रोकिएको छ भने अवकाशप्राप्त ६५ भन्दा बढी कर्मचारीले उपदान पाउन बाँकी छ। उद्योगको कुल दायित्व करिब १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जसमा सप्लायर, कर्मचारी तथा अन्य भुक्तानी समावेश छन्। साथै, सरकारलाई करिब ४८ करोड ८७ लाख रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ।
उद्योग व्यवस्थापनका अनुसार निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्नु, उत्पादन लागत उच्च हुनु तथा पुराना उपकरण प्रयोगमा रहनु प्रमुख चुनौती बनेका छन्। दैनिक ७५० मेट्रिक टन उत्पादन क्षमता भए पनि प्राविधिक र वित्तीय सीमितताका कारण क्षमता उपयोग न्यून छ।
कच्चा पदार्थको मूल्य वृद्धि र बजारमा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले पनि आर्थिक घाटा थपिएको उद्योगको भनाइ छ।
विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो ।

