काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको विषय सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरेका थिए। त्यसपछि सम्बन्धित निकायलाई अनुसन्धान अघि बढाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका व्यक्तिको परिचय र संख्या भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
मन्त्रालयका अनुसार शिक्षामन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै पुगेर प्रहरीका उच्च अधिकारी तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग घटनाबारे छलफल गरेका थिए। त्यसक्रममा प्रश्नपत्र कसरी र कहाँबाट बाहिरियो भन्ने विषयमा अनुसन्धान गर्ने तथा विश्वविद्यालयबाट छुट्टै छानबिन समिति गठन गर्नेबारे परामर्श भएको थियो।
परीक्षा सुरु भएको पाँच मिनेटमै ह्वाट्सएपमा प्रश्नपत्र
प्रहरीको प्रारम्भिक अनुसन्धानमा प्रश्नपत्र ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै पठाइएको देखिएको बताइएको छ।
गत साउन ८ गते एमबीएस प्रथम सत्रअन्तर्गत ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सञ्चालन भएको थियो। परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा पुगेपछि परीक्षाको गोपनीयता र विश्वसनीयतामाथि प्रश्न उठेको थियो।
‘टियु स्टुडेन्ट्स’ नामको फेसबुक पेजले प्रश्नपत्र बाहिरिएको दाबी गर्दै ह्वाट्सएप ग्रुपका स्क्रिनसटसमेत सार्वजनिक गरेको थियो। त्यसपछि घटना व्यापक रूपमा बाहिरिएको हो।
प्रश्नपत्र चुहावटको विषय सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डीन कार्यालयले अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो।
सात दिनभित्र प्रतिवेदन बुझाउन छानबिन समिति
त्रिभुवन विश्वविद्यालयको परीक्षा सञ्चालक समितिले घटनाको आन्तरिक छानबिन गर्न प्राध्यापक डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य छन्।
समितिलाई प्रश्नपत्र कहाँबाट बाहिरियो, त्यसमा कसको संलग्नता थियो, परीक्षा केन्द्र वा विश्वविद्यालयको प्रणालीमा सुरक्षा कमजोरी भए–नभएकोलगायत विषयमा छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।
परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सार्वजनिक भएको घटनाले त्रिविको परीक्षा सुरक्षा प्रणाली, परीक्षा केन्द्रको अनुगमन र डिजिटल माध्यमको दुरुपयोग नियन्त्रणसम्बन्धी व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

