काठमाण्डौ । सरकारले सरकारी कर्मचारीहरूलाई अबदेखि प्रत्येक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने नयाँ व्यवस्था लागू गर्ने भएको छ।
अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र पठाइसकेको छ। यससँगै, हालसम्म महिनाको अन्त्यमा एकमुष्ट रूपमा दिइँदै आएको तलबभत्ता अब अर्धमासिक रूपमा वितरण हुने भएको हो।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको र उक्त व्यवस्था छिट्टै कार्यान्वयनमा आउने तयारी भइरहेको छ। ‘अर्थ मन्त्रालयबाट परिपत्र आइसकेको छ, अब यो चाँडै कार्यान्वयन हुन्छ,’ उनले बताएका छन्।
सरकारले कर्मचारीहरूको हातमा समयमै नगद प्रवाह सुनिश्चित गर्दै आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।
अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालका अनुसार अर्थमन्त्रीस्तरीय निर्णयबाट यो नयाँ भुक्तानी प्रणाली लागू गरिएको हो।


