काठमाण्डौ । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित होटल तथा व्यवसायिक प्रतिष्ठानहरूमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार निरीक्षण गरी कानूनविरुद्ध कार्य गर्नेलाई कारवाही गरेको छ । उक्त अनुगमनका क्रममा मूल्य अनियमितता, भ्रामक लेबलिङ र म्याद सकिएका खाद्य सामग्री बिक्रीजस्ता क्रियाकलाप भेटिएको थियो ।
विभागका अनुसार केही फर्महरूले अधिकतम खुद्रा मूल्य उल्लेख नगरी बिक्री गर्नुका साथै पुरानो मूल्य छोपेर नयाँ स्टिकर टाँसी महँगोमा सामान बिक्री गर्ने प्रवृत्ति देखिएको छ। विभागले पाँचवटा व्यावसायिक फर्मलाई कुल १४ लाख ५ हजार रुपैयाँ नगद जरिबाना तिराएको छ ।
अनुगमनपछि सान इन्टरप्राइजेज, ओरियन्टल होटल्स, टी थ्री थकाली ग्रुप र साई किरण इन्टरप्राइजेज लाई जनही ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। यी प्रतिष्ठानहरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गतको गम्भीर उल्लङ्घनमा दोषी ठहर गरिएको हो।
त्यसैगरी, होटल सोनिगः प्रालि लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ। अनुगमन टोलीले सो होटलमा पनि उपभोक्ता हितविपरीतका गतिविधि फेला पारेको जनाएको छ।

