काठमाण्डौ । नियामकीय दवाबका कारण खराब संस्थासँग मर्ज गर्दा एउटा बलियो वित्तीय संस्था कसरी कमजोर बन्छ भन्ने उदाहरण बनेको छ हिमालयन बैंक लिमीटेड ।
वित्तीय प्रदर्शनसँगै लाभांश क्षमता पनि उच्च बनाएर लगानीकर्ताहरुका लागि सधैं आकर्षित गर्दै आएको यो बैंकले जब खराब कर्जा र अन्य वित्तीय गडबडीले ग्रस्त भएको सिभिल बैंकलाई मर्ज गर्यो, त्यसपछि अवस्था खराब बन्दै गएको देखिन्छ । सिभिल बैंक टेकओभर गर्दा त्यहाँ व्याप्त वित्तीय रोगले स्वस्थ अवस्थाको हिमालयन बैंकलाई समेत कमजोर बनाउँदै लगेको पछिल्लो समयमा वित्तीय विवरणहरुले देखाएको छ ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणमा समेत सिभिल बैंकको समस्याको प्रभाव घट्नुको साटो अझै बढ्दै गएको देखिएको छ । सबैभन्दा ठूलो चिन्ताको विषय यो बैंकको खराब कर्जा अनुपात घट्नुको साटो बढिरहेको छ । उदाहरणका लागि गत वर्षको यही अवधिमा ७.६८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर यो वर्ष ७.९८ प्रतिशत पुगेको छ ।
खराब कर्जा बढेकै कारण सम्भावित कर्जा जोखिम व्यवस्थापनका कमाएको ठूलो रकम छुट्याउनु पर्दा बैंकको नाफा लगायतका महत्वपूर्ण सूचकहरु प्रत्यक्ष प्रभावित भएका देखिएको छ ।
बैंकले खराब कर्जाको जोखिम व्यवस्थापनका लागि मात्रै ३ अर्ब १२ करोड बढी रकम छुट्याउने अवस्था आइलागेको छ । गत वर्ष यही अवधिमा १ अर्ब ३२ करोड हाराहारीमा मात्र छुट्याउनु परेको थियो । यही अवस्थाका कारण बैंकको खूद नाफा ७६ करोड २५ लाखमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा त बैंकको नाफा ५० करोड रुपैयाँ मात्र थियो ।
अघिल्लो वर्ष ३ अर्ब ८१ करोड रहेको सञ्चालन मुनाफा घटेर यो वर्ष १ अर्ब १५ करोडमा सीमित बनेको छ भने बैंकको मुख्य आम्दानीको स्रोत खूद ब्याज आम्दानी पनि गत वर्षको यही अवधिको ७ अर्ब ७५ करोडबाट घटेर ६ अर्ब ८३ करोडमा सीमित बन्न पुगेको छ ।
यिनै अवस्थाको प्रतिफल बैंकको वितरणयोग्य मुनाफा १० अर्बले ऋणात्मक बन्न पुगेको छ, जुन अघिल्लो वर्ष ७ अर्ब ३६ करोडले ऋणात्मक थियो ।
अघिल्लो वर्ष यही अवधिसम्म ३.०८ रुपैयाँ रहेको वार्षिकीकृत इपीएस बढेर ४.५० रुपैयाँ पुगेको छ । नाफा बढ्दाको प्रभाव इपीएससहित रिटर्न अन इक्वीटी(आरओई) र रिटर्न अन एसेट(आरओए)मा पनि देखिएको छ । जसअनुसार अघिल्लो वर्ष १.८१ प्रतिशत रहेको आरओई बढेर यो वर्ष २.६९ प्रतिशत तथा ०.१८ प्रतिशतमा सीमित आरओए बढेर ०.२६ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ३८ अर्ब १८ करोड बढी निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब ४१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षसम्म ३ अर्ब ९ अर्ब १५ करोड बढी निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

