काठमाण्डौ । स्कटल्यान्डले विश्वकप फुटबलमा ३६ वर्षपछि पहिलो जित दर्ता गर्दै हाइटीलाई १–० गोलअन्तरले पराजित गरेको छ। समूह ‘सी’ अन्तर्गत शनिबार भएको खेलमा कप्तान जोन म्याकगिनको पहिलो हाफको गोल नै निर्णायक बन्यो।
खेलको २८औँ मिनेटमा चे एडाम्सको प्रहार हाइटीका गोलरक्षक जोनी प्लासिडले बचाए पनि रिबाउन्डमा आएको बललाई म्याकगिनले जाली चुमाउँदै स्कटल्यान्डलाई अग्रता दिलाएका थिए। उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।
यसअघि १७औँ मिनेटमा स्कट म्याकटोमिनेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो। खेलभर स्कटल्यान्डले बल नियन्त्रणमा राखे पनि हाइले अन्तिम चरणमा केही दबाब सिर्जना गरेको थियो। यद्यपि स्कटल्यान्डका गोलरक्षक एङ्गस गनलाई उल्लेखनीय बचाउ गर्नुपर्ने अवस्था भने कमै आयो।
यस जितसँगै स्कटल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ। सोही समूहका बलियो टोली ब्राजिल र मोरक्कोबीचको खेल १–१ को बराबरीमा सकिएको थियो।
खेलपछि स्कटल्यान्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले जित नै सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन्। उनले टोलीको रक्षात्मक प्रदर्शन उत्कृष्ट रहेको उल्लेख गर्दै केही कमजोरी भए पनि तीन अंक हासिल गर्नु नै प्रमुख उपलब्धि भएको प्रतिक्रिया दिए।
हाइले पनि केही अवसर सिर्जना गरेको थियो। रुबेन प्रोभिडेन्स र फ्रान्ट्ज्डी पियरोटले बराबरी गोलको प्रयास गरे पनि स्कटल्यान्डको रक्षापंक्तिले चुनौती सफलतापूर्वक सामना गर्यो।
अब स्कटल्यान्डले आगामी खेलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने हैटीले पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको सामना गर्नेछ।

