शुक्रबार, श्रावण १,२०८३ 12:04:18
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 12:04:18
Bizshala
Global IME Bank Limited

‘सेयरबाट अकूत कमाएर नेता पाल्ने खेल अब सकिन्छ’

अर्थमन्त्रीको सन्देशः ‘भित्री कारोबार गर्नेहरू अब जोगिँदैनन्’

‘सेयरबाट अकूत कमाएर नेता पाल्ने खेल अब सकिन्छ’
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूँजीबजार, राजश्व प्रणाली र आर्थिक प्रशासनभित्र वर्षौंदेखि जरा गाडेर बसेको भनिएको ‘पुरानो शक्ति संरचना’ तोड्ने संकेत दिएका छन् ।

संसदको अर्थ समिति बैठकमा बोल्दै वाग्लेले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुनर्संरचना अब कार्यान्वयनमा जाने घोषणा मात्रै गरेनन्, भित्री कारोबार, प्रभावशाली पहुँच र संस्थागत कब्जाविरुद्ध सरकार खुलेर उत्रिएको सन्देश पनि दिएका छन् ।

उनले सेयर बजारमा भित्री कारोबार गरेर अकूत सम्पत्ति कमाउने, त्यही पैसाबाट प्रभावशाली राजनीतिक तथा प्रशासनिक पहुँच बनाउने र संस्थाहरूलाई नियन्त्रणमा राख्ने प्रवृत्ति अब कमजोर बन्दै गएको दाबी गरे ।

“अकूत कमाउनेहरूले यस्ता संस्था कब्जा गरेर राखेका रहेछन्,” वाग्लेले अर्थ समिति बैठकमा भने ।

उनको यो अभिव्यक्तिलाई धेरैले नेपालको पूँजीबजारभित्र लामो समयदेखि चर्चामा रहेको ‘सिन्डिकेट नेटवर्क’माथिको प्रत्यक्ष प्रहारका रूपमा बुझेका छन् ।

विशेषगरी नेप्से, धितोपत्र बोर्ड र बजारसँग जोडिएका संस्थाहरू सीमित समूहको प्रभावमा गएको आरोप विगतदेखि लाग्दै आएको थियो । भित्री सूचना चुहावट, समूहगत कारोबार, कृत्रिम मूल्य वृद्धि र राजनीतिक संरक्षणमार्फत बजार चलाइएको गुनासो लगानीकर्ता वृत्तमा बारम्बार सुनिने गरेको थियो ।

यही पृष्ठभूमिमा वाग्लेले नेप्सेको पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन अब कार्यान्वयनमा जाने स्पष्ट संकेत दिएका हुन् ।

उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पूँजीबजार सुधारलाई उच्च प्राथमिकतामा राखेको भन्दै बजेटमार्फत थप संरचनात्मक सुधार आउने बताएका छन् ।

तर, वाग्लेले आफ्नो प्रस्तुति केवल पूँजीबजार सुधारमा सीमित राखेनन् । उनले आफू अर्थमन्त्री बनेपछि अघि बढाइएका ३० वटा प्रमुख कामहरूको सूची समेत सार्वजनिक गर्दै सरकार अहिले “सुशासन, पारदर्शिता र लगानीमैत्री वातावरण” निर्माणमा केन्द्रित रहेको दाबी गरे ।

उनले राजश्व चुहावट नियन्त्रण, सरकारी प्रणालीको डिजिटाइजेसन, प्रशासनिक पारदर्शिता तथा आर्थिक अनुशासनलाई प्राथमिकतामा राखिएको बताए ।

उनका अनुसार अब राम्रो परियोजना केवल बजेट अभावका कारण रोकिने अवस्था नरहनेछ । “राम्रा परियोजनालाई ऋण, अनुदान वा राजश्व: जुनसुकै स्रोतबाट भए पनि पूरा गरिन्छ,” उनले भने ।

वाग्लेले पछिल्लो ‘जेनजी आन्दोलन’को समेत प्रशंसा गर्दै त्यसले पुरानो शक्ति संरचनामाथि दबाब सिर्जना गरेको बताए । “जेनजी आन्दोलनलाई धन्यवाद दिनैपर्छ, नत्र यस्ता व्यक्तिका कारण हामी भड्खालोमा जाकिने थियौं,” उनले भने ।

अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई धेरैले केवल प्रशासनिक सुधारको भाषणभन्दा पनि ‘पुरानो आर्थिक–राजनीतिक गठजोडविरुद्धको राजनीतिक घोषणा’का रूपमा हेरेका छन् ।

तोकियो बजेटको सिलिङ

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ तय गरेको छ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार कमजोर राजस्व संकलन र न्यून पुँजीगत खर्चबीच आगामी बजेटलाई ‘नतिजामुखी’ बनाउने तयारी भइरहेको छ । 

सरकारले नयाँ आयोजनाभन्दा अधुरा परियोजना सम्पन्न गर्ने, अनावश्यक खर्च कटौती गर्ने तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने रणनीति लिएको छ । हालसम्म चालु आर्थिक वर्षमा पुँजीगत खर्च केवल २६ प्रतिशत र राजस्व संकलन लक्ष्यको ६० प्रतिशत मात्र पुगेको अवस्थामा मन्त्रालयले ३९ वटा संरचना र ३०० भन्दा बढी दरबन्दी खारेज गरिसकेको जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.