काठमाण्डौ ।नेपाल र श्रीलंकाबीच डिजिटल भुक्तानी प्रणालीमा नयाँ अध्याय सुरु भएको छ। श्रीलंकाको LankaPay र नेपालको Nepal Clearing House Limited (एनसीएचएल) ले संयुक्त रूपमा क्रस–बोर्डर QR भुक्तानी सेवा सुरु गरेका हुन्।
नयाँ व्यवस्थासँगै अब श्रीलंका भ्रमणमा जाने नेपालीहरूले connectIPS तथा अन्य मोबाइल बैंकिङ एपमार्फत LankaQR स्क्यान गरेर सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्नेछन्। श्रीलंकाभर रहेका ४ लाखभन्दा बढी LankaQR मर्चेन्टमा यो सेवा प्रयोग गर्न सकिने जनाइएको छ।
सेवाको औपचारिक शुभारम्भ श्रीलंकाको कोलम्बोमा आयोजित विशेष कार्यक्रममा गरिएको हो। कार्यक्रममा Nepal Rastra Bank, Central Bank of Sri Lanka, एनसीएचएल, LankaPay तथा दुवै देशका बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
एनसीएचएलका अनुसार यो सेवा प्रारम्भिक चरणमा Laxmi Sunrise Bank मार्फत सुरु गरिएको हो। बैंकद्वारा जारी गरिएको डलर कार्ड वा इन्स्ट्रुमेन्टलाई connectIPS एपसँग लिंक गरी नेपाली प्रयोगकर्ताले श्रीलंकामा रियल–टाइम QR भुक्तानी गर्न सक्नेछन्। आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपमा पनि सेवा विस्तार गरिने जनाइएको छ।
दुवै संस्थाले यसलाई दक्षिण एसियाली देशहरूबीच डिजिटल भुक्तानी प्रणालीको क्षेत्रीय अन्तरआबद्धताको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। यो प्रणालीले पर्यटक, व्यवसायी तथा आम नागरिकलाई सुरक्षित, नगदरहित र रियल–टाइम भुक्तानी सुविधा दिने विश्वास गरिएको छ।
नेपाल र श्रीलंकाबीच ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहँदै आएको सन्दर्भमा बढ्दो पर्यटन र व्यापारिक आदानप्रदानलाई डिजिटल माध्यमबाट थप सहज बनाउने अपेक्षा गरिएको छ। विशेषगरी साना तथा मझौला व्यवसायलाई अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच विस्तार गर्न पनि यसले सहयोग पुग्ने बताइएको छ।
एनसीएचएलले हाल इलेक्ट्रोनिक चेक क्लियरिङ, connectIPS, National Payment Switch, नेपालपे QR लगायत १० भन्दा बढी राष्ट्रिय डिजिटल भुक्तानी पूर्वाधार सञ्चालन गर्दै आएको जनाएको छ।

