काठमाण्डौ । बरुण हाइड्रोपावरको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ६९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३७३.८१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले जम्मा ३५ लाख ७८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा सुधार देखिदा नाफा वृद्धिमा टेवा पुगेको हो । सो अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी ३.६४ प्रतिशत बढेर ७ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ७ करोड २७ लाख रुपैयाँ थियो ।
साथै कम्पनीको वित्तीय खर्च पनि घटेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न पुगेको देखिन्छ । गत आवको चैत मसान्तसम्म २ करोड २७ लाख रुपैयाँ वित्त खर्च रहेको यस कम्पनीको चालु आवको सोही अवधिसम्म २१.९१ प्रतिशत कम भई १ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।
साथै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २.०१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.७२ रुपैयाँ, पीई रेसियो १५८.९१ गुणा र तरलता अनुपात १२.०५ प्रतिशत रहेको छ ।

