काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ५० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४८.४३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले १० करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
संस्थाको ब्याज आम्दानीमा गिरावट आउँदा र इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढ्दा नाफा घट्न पुगेको हो । संस्थाले सो अवधिसम्म जम्मा २८ करोड ४१ लाख रुपैयाँ मात्रै ब्याज आम्दानी गरेको छ । जुन यो आम्दानी गत आवको तुलनामा ६.२८ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाको यस्तो आम्दानी ३० करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
साथै गत आवको चैत मसान्तसम्म जम्मा १ करोड ४५ लाख रुपैयाँ मात्रै इम्पेयरमेन्ट चार्ज तिरेको यो संस्थाले चालु आवको सो अवधिसम्म ७ करोड २१ लाख रुपैयाँ यस्तो चार्ज तिरेको छ, जसकारण नाफा घट्न पुगेको हो । गत आवको तुलनामा संस्थाको इम्पेयरमेन्ट चार्ज ३९४.६९ प्रतिशतले बढेको छ ।
साथै सो अवधिसम्म संस्थाको खराब कर्जा अनुपात पनि १.८६ प्रतिशतबाट बढेर ५.८३ प्रतिशत पुगेको छ भने पूँजीकोष अनुपात ९.०४ प्रतिशत, सिडि रेसियो १०७.२६ प्रतिशत, बेस रेट ११.९२ प्रतिशत र स्प्रेड दर ८६ प्रतिशत पुगेको छ ।
संस्थाको इपीएस ६५.४३ रुपैयाँबाट घटेर ३३.७४ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २४३.३९ रुपैयाँ, पीई रेसियो ५५.१५ गुणा र तरलता अनुपात ४.४९ प्रतिशत रहेको छ ।
कम्पनीले सो अवधिसम्म ५ करोड ८६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ, यसर्थ सो अवधिसम्ममा कम्पनीको लाभांश क्षमता २६.९४ प्रतिशत रहेको छ ।

